टोखाामा एडभान्स ब्यूटीपार्लर तालिम

टोखाामा एडभान्स ब्यूटीपार्लर तालिम

काठमाडौं, मंसिर ः टोखा नगरपालिका  २ मा एडभान्स ब्यूटीपार्लर तालिम सुरु भएको छ । टोखा नगरपालिका २ वडा कार्यालयसँगको समन्वयनमा २० जना महिलाहरुलाई एडभान्स तालिम दिन सुरु गरिएको ब्यूटीफ्लाई ब्युटी एकेडेमि एण्ड मेक्अप स्टुडियोकी सहजकर्ता अल्शा श्रेष्ठले जानकारी दिइन् । वडा कार्यालयको लक्षित वर्ग कार्यक्रम अन्तर्गत ४ महिने एडभान्स तालिम सुरु गरिएको छ । तालिमको टोखा नगरपालिका २ वडा कार्यालयका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले उद्घाटन गरेका छन् भने वडाध्यक्ष श्रेष्ठले वडा कार्यालयले गरेको लगानी खेर नजाने गरि तालिममा सिक्न र त्यसलाई व्यवहारिक प्रयोग गर्न आग्रह गर्नुभयो । तालिममा भएकाहरु कतै रोजगारीमा लागे वा स्वरोजगार भएर उनीहरुले व्यवसाय गरेको देख्न पाए मात्रै तालिमले सार्थकता पाउने वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताउनु भयो ।
आगामी दिनमा यस्ता तालिम दिने कि नदिने भन्ने परिक्षणको क्षणमा रहेको भन्दै अहिलेका तालिमहरु उपलब्धीमुलक भए मात्रै आगामी दिनमा तालिमहरुलाई निरन्तरता दिने उनले प्रष्ट पारे । तालिम उद्घाटन कार्यक्रममा टोखा नगरपालिका(२ का वडासदस्यहरु सदस्य आर्यन डंगोल, अमर डंगोल, सविना श्रेष्ठ, लक्ष्मी हिङमाङ,टोखा नगरपालिका(३ का वडासदस्य हरिभक्त श्रेष्ठ, वडा सचिव सालिकराम गौतम, तालिमको संयोजक ब्यूटीफ्लाई ब्युटी एकेडेमि एण्ड मेक्अप स्टुडियोकी अल्शा श्रेष्ठ, अनिशा श्रेष्ठ तथा सहभागीहरुको उपस्थिती रहेको थियो ।

रोजगारी प्रर्बदन गर्नका लागी टोखामा आधारभूत मन्टेश्वरी शिक्षक तालिम

काठमाडौ ः टोखा नगरपालिका २ मा ३ महिने आधारभूत मन्टेश्वरी शिक्षक तालिमको उद्घाटन भएको छ । टोखा नगरपालिका २ वडा कार्यालयको आयोजना तथा उत्पला एजुकेशनल अर्गनाईजेसनको समन्वयनमा सञ्चालन हुने आधारभूत मन्टेश्वरी शिक्षक तालिम उपमेयर मुरारी तामाङले उद्घाटन गर्नु भएको छ ।

टोखा २ वडा भित्रका १२ कक्षा उत्तीर्ण भएका वडाबासीहरुको रोजगारी प्रर्बदन गर्न उदेश्यले आयोजना गरिएको सो मन्टेश्वरी शिक्षक तालिम तालिममा २५ जनाले यो तालिम पाउने जनईउको छ । टोखा नगरपालिका २ वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठको सभापतित्वमा आज एक भब्य समारोह बिच भएको कार्यक्रममा वडा सदस्य द्वय सविना श्रेष्ठ र लक्ष्मी हिङमाङ, नगर शिक्षा अधिकृत खगेनद्र सिंग धामी, वडा सचिव सालिकराम गौतम, उत्पला एजुकेशनल अर्गनाईजेसनकी अध्यक्ष सरीता मर्हजन तथा सहभागीहरुको उपस्थीती रहेको थियो ।

माछा मार्ने क्रममा मृत्यु श्रीमान् श्रीमतीको मृत्यु

५ मंसिर, काठमाडौं : सोमबार अपराह्न ४ बजे माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् । उनीहरू श्रीमान् श्रीमती भएको  जनाईएको छ ।  उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपछि उद्धार गरी अस्पताल पुर्‍याए पनि ५: २३ मा चिकित्सकले मृत घोषणा गरेका थिए ।

नेपोलियनको टोपी २७ करोडमा बिक्री

नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ। प्यारिस अक्सनका क्रममा १९औँ शताब्दीमा फ्रान्समा शासन गरेका बोनापार्टको ‘ह्याट’ २१ लाख अमेरिकी डलरमा बिक्री भएको हो। जुन नेपाली रुपैयाँ २७ करोड ८६ लाख बराबर हुन्छ। अधिकांश समय उनले लगाउने गरेको यो विशेष किसिमको सैनिक टोपीको मूल्याङ्कन छ लाख देखि आठ लाख युरो गरिएको थियो। यो टोपी किन्ने व्यक्तिले आफ्नो परिचय सार्वजनिक गरेका छैनन्।  इतिहासकारहरूले यो टोपी उनको ब्रान्ड जस्तै बनेको बताएका छन्। नेपोलियनले यसलाई ढल्काएर लगाउँथे र युद्धका क्रममा उनलाई टाढैबाट पहिचान गर्न सकिन्थ्यो। गत वर्ष मृत्यु भएका एक जना उद्योगपतिले सङ्कलन गरेका नेपोलियनसँग सम्बन्धित स्मरणीय सामग्रीहरूसँगै यो टोपी पनि बिक्रीका लागि राखिएको थियो। यसको बिक्रीमा संलग्नहरूले यो टोपी खास रहेको र पाउन कठिन रहेको बताएका थिए।  दुई तर्फ चुच्चो परेको र त्रिरङ्गी ब्याच भएको फ्रान्सेली शासकको उक्त “ब्ल्याक बिभर” ह्याट फ्रान्सको प्यारिस स्थित ओसेनट अक्सन हाउसमा बिक्रीका लागि राखिनु अघि प्रदर्शनीमा राखिएको थियो।

चितवनमा ७ गतेदेखि ९ गतेसम्म कृषि वैज्ञानिक सम्मेलन हुँदै

चितवन : चितवनमा ७ गतेदेखि ९ गतेसम्म कृषि वैज्ञानिक सम्मेलन हुँदै छ । चितवनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकको पहिलो सम्मेलन हुने भएको छ । कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलले सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपति लगायतको उपस्थिति रहने बताउनु भएकाे छ ।  एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थाहरुसहित विभिन्न दातृ निकायका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुनुहुने छ । म्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरु द्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ । जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरु प्रस्तुत गरिने छ । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक, कृषि अनुसन्धानमा सरोकार राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घसंस्थाका प्रतिनिधि र प्राध्यापकको सहभागिता रहने छ ।

सम्मेलन पहिलोपटक गर्न लागिएको हो । यसले नयाँ उपलब्धीहरु को आदानप्रदान गर्ने छ भने अनुसन्धानलाई सहयोग पुग्नेछ । यस किसिमको  महत्वपूर्ण सम्मेलन पहिलोपटक चितवनमा गर्न लागिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले  जनाएको छ ।

images

‘सुगर’ के हो र कसलाई हुन सक्छ

मधुमेह एउटा गम्भीर स्वास्थ्य समस्या हो जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ। जोसुकैलाई पनि यो रोग लाग्न सक्छ। यसलाई चिकित्सकीय भाषामा ‘डाइअबीटीज’ भनिन्छ। रगतमा चिनीको मात्रा बढी हुने भएकाले यसलाई ‘सुगर’ वा ‘चिनी रोग’ पनि भन्ने गरिएको छ। शरीरले रगतमा भएको सबै चिनी (ग्लुकोज) प्रशोधन गर्न नसक्दा मानिसमा हृदयाघात, मस्तिष्काघात र अन्धोपन हुन सक्छ अनि मिर्गौलाले काम गर्न छाड्ने अवस्था पनि निम्तिन सक्छ। खाना खाएपछि हाम्रो शरीरले कार्बोहाइड्रेटलाई टुक्र्याएर ग्लुकोज बनाउँछ। पेटनजिकै अवस्थित प्यान्क्रिअस अर्थात् अग्न्याशय भनिने एउटा ग्रन्थिले इन्सुलिन होर्मन उत्पादन गर्छ जसले हाम्रो शरीरलाई त्यो ग्लुकोजलाई सोसेर पोषण बनाउन निर्देशन दिन्छ। तर इन्सुलिनले राम्ररी काम नगरे वा त्यसको उत्पादन नभए रगतमा चिनी जम्मा हुन थाल्छ। त्यस्तो अवस्थालाई मधुमेह अर्थात् डाइअबीटीज भनिन्छ। मधुमेह भएकामध्ये झन्डै १० प्रतिशत मानिसमा टाइप वन डाइअबिटीज भएको हुन्छ। टाइप टू डाइअबीटीज हुँदा प्यान्क्रिअस ग्रन्थिले पर्याप्त इन्सुलिन उत्पादन गर्दैन र होर्मनले पनि राम्रोसँग काम गर्दैन।

विभिन्न अध्ययनहरूले फरकफरक मापदण्ड प्रयोग गरेर ६ देखि १६ प्रतिशत गर्भवती महिलामा ‘जेस्टेशनल डाइअबीटीज’ देखा पर्ने गरेको जनाएका छन्।  त्यस्तो अवस्था सिर्जना भएका महिलाहरूले चिनीको मात्रालाई आहारा, शारीरिक गतिविधि वा इन्सुलिनको प्रयोग गरेर टाइप टू मधुमेह हुनबाट रोक्नुपर्छ। मानिसहरूमा मधुमेह हुनुअघिका समस्याहरू पनि देखा पर्न सक्छन्। त्यति बेला ग्लुकोजको मात्रा बढी हुने गर्छ र त्यसले पनि मधुमेह गराउन सक्छ।

शुभ साइतको भाइटीका

नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका लगाइएको छ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १०:५१ बजेलाई शुभ साइत तय गरेको थियो। शुभ साइतमा दिदीबहिनीहरूले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिएका हुन्। दाजुभाइहरूले पनि दिदीबहिनीहरूलाई आ—आफ्नो गच्छेअनुसारका दक्षिणा, उपहार, पक्वान्न आदि दिएर यो यो पर्व मनाएका छन्। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन रहिआएको छ।

उत्तराखण्डमा सुरुङभित्र फसेका ४० मजदुरको उद्धार प्रयास

भारतमा उत्तराखण्ड राज्यमा एउटा भत्किएको सुरुङमा गत आइतवारदेखि फसिरहेका ४० जना मजदुरको ज्यान जोगाउने प्रयास उद्धारकर्मीहरूले गरिरहेको बताइएको छ। फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरुङ निर्माणमा संलग्न थिए। त्यहाँ पहिरोका कारण उक्त निर्माणाधीन सुरुङको केही भाग भत्किँदा मजदुरहरू त्यहाँ फसेका बताइएको छ। ती मजदुरहरूसँग सम्पर्क स्थापित गर्न सफल भएका छन्। उनीहरूलाई खानेकुरा, पानी र अक्सिजन पठाइएको छ। मङ्गलवार राति वा बुधवारसम्म ती मजदुरहरूलाई उद्धार गर्न सकिने अनुमान गरेका छन्। उत्तरकाशी जिल्लामा निर्माण भइरहेको उक्त सुरुङ उत्तराखण्डका प्रसिद्ध तीर्थस्थलहरूलाई जोड्न यातायात व्यवस्थामा सुधार ल्याउने सङ्घीय सरकारको महत्वाकाङ्क्षी राजमार्ग परियोजनाको एक भाग हो। कतिपय हिमाल र हिमनदीहरू रहेको उक्त क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूका केही प्रसिद्ध तीर्थस्थलहरू पनि छन्। आइतवार स्थानीय समयानुसार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो। मजदुरहरूले काम गरिरहेको अवस्थामा सिल्क्यारा सुरुङको मुखदेखि २०० मिटरभित्रको भाग भत्किएको उनले बताए।

नजिकै गएको पहिरोले सुरुङ क्षेत्रमा ठूलो मात्रा ढुङ्गामाटो थुप्रिँदा सुरुङ भत्किएको बताइएको छ। त्यसले गर्दा सुरुङभित्र अक्सिजनको आपूर्ति पनि काटिएको बताइएको छ। आइतवार राति वाकीटकी यन्त्रको माध्यमबाट सुरुङमा फसेका मजदुरहरूसँग सम्पर्क स्थापित भएको थियो। सुरुङभित्र निर्माण कार्यका लागि पानी लग्न बनाइएको पाइपलाइनको प्रयोग अहिले ती मानिसहरूसम्म अक्सिजन, खानेकुरा र पिउने पानी पुर्‍याउन भइरहेको छ। फसिरहेका मानिसको उद्धार गर्न त्यस क्षेत्रमा उत्खनन सुरु गर्नुअघि उद्धारकर्मीहरूले त्यहाँ थुप्रिएको ढुङ्गामाटोको कैयौँ मिटर अग्लो विशाल डङ्गुर हटाउनुपर्ने छ। त्यसका लागि एक्स्कभेटर र अन्य ठूला उपकरणहरूको प्रयोग भइरहेको छ। मजदुरहरूसम्म पुग्न मङ्गलवार बिहान ढुङ्गामाटोले पुरिएको सुरुङको भागमा ९०० मिमिको पाइप छिराउनका लागि त्यस स्थानमा ड्रिल गर्ने प्रयासमा उद्धारकर्मीहरू लागिरहेका राज्य सरकारले जनाएको थियो।

नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल सरकारले “सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको” भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि टिकटकविरुद्ध गुनासो आइरहेको भन्दै मन्त्रिपरिषद्को बैठकले त्यसबारे निर्णय लिएको बताइन्। “यो निर्णय आजैबाट (सोमवारबाटै) कार्यान्वयनमा जान्छ। यसलाई रोक्ने व्यवस्था मिलाउन हामीले नेपाल टेलिकमलाई जिम्मा दिएका छौँ।” तिहारको समय चलिरहँदा नेपालमा ज्यादै लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लागेको हो।

मन्त्रिपरिषद्को निर्णयसँगै चिनियाँ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पछिल्लो मुलुक नेपाल बनेको छ। भारतमा पनि टिकटकमा प्रतिबन्ध छ। मन्त्री शर्माले तिहारको समयमा प्रतिबन्ध लाग्नु संयोग मात्रै भएको बताइन्।  “यो पटकपटक क्याबिनेटमा छलफल भएको विषय हो। धेरै गुनासाहरू आएका थिए। समाजमा र परिवारमा बसेर हेर्न नसकिने किसिमका सामाग्रीहरू राखिए भन्ने कुरा थियो। गृह मन्त्रालयले टिकटककै प्रतिनिधिलाई बोलाएर पनि त्यसबारे ध्यानाकर्षण गराएको थियो।” आँकडा नभए पनि इन्टरनेट प्रयोग गर्ने धेरै नेपालीहरू मनोरञ्जनका साधनका रूपमा टिकटक हेर्ने गर्छन्। तर मन्त्री शर्माले मनोरञ्जनभन्दा समस्या धेरै भएकाले प्रतिबन्ध लगाइएको बताइन्।   “मनोरञ्जनका लागि आरु सामाजिक सञ्जालहरू पनि छन्। फेसबुक, ट्विटरलगायतका माध्यमलाई हामीले केही पनि गरेका छैनौँ।” कैयौँले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि प्रश्न समेत उठाइरहेका छन्।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार “उल्टो कदम हिँडेको” टिप्पणी गरेका छन्। “सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,” उनले फेसबुकमा लेखेका छन्। “यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।”

सुनको मूल्य बढेकोबढ्यै

दशैँ बिदापछि बजार खुलेसँगै पहेँलो धातु सुनको मूल्य फेरि उकालो लाग्ने क्रम शुरू भएको छ। एक महिनाकै अवधिमा सुनको मूल्य प्रतितोला सात हजार रुपैयाँसम्म बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्कले देखाउँछ। भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार विगत तीन महिनाको तथ्याङ्क हेर्दा सुनको आयात पनि बढेको देखिन्छ। यद्यपि तुलनात्मक रूपमा अहिले सुनको माग घटेको व्यवसायीहरूको दाबी छ। भन्सार विभागका अनुसार गत साउनमा दुई सय किलो सुन आयात भएको छ। एक अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सुन आयात हुँदा सरकारले २४ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ। भदौमा चार अर्ब १२ करोड रुपैयाँभन्दा बढी मूल्यको पाँच सय किलो सुन आयात भएको विभागले जनाएको छ।

तीन महिनाको अवधिमा सबैभन्दा बढी असोजमा सात अर्ब ३५ करोड रुपैयाँभन्दा बढी मूल्यको नौ सय किलोभन्दा बढीको सुन आयात भएको विभागको तथ्याङ्क छ।राष्ट्र ब्याङ्क

सरकारले राजस्व बापत त्यसबाट एक अर्ब १० करोड रुपैयाँभन्दा बढी आर्जन गरेको छ। राष्ट्र ब्याङ्कले एक महिनामा ६०० किलो (दैनिक २० किलो) मात्र सुन आयात गर्न पाउने सीमा तोकेको छ। कोभिडपूर्व दैनिक २० किलो आयात गर्न पाउने अनुमति थियो भने राष्ट्र ब्याङ्कले पछि घटाएर १० किलोमा सीमित गर्‍यो। अहिले फेरि दैनिक २० किलो आयात गर्न दिने भएपछि त्यसको प्रभाव देखिएको अधिकारीहरू बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुमा विभिन्न कारक तत्त्व रहेको जानकारहरू बताउँछन्। “एउटा पक्ष भूराजनीतिक अस्थिरता र युद्ध पनि हो। उदाहरणका लागि पछिल्लो समय इजरेल र हमासबीच लडाइँ शुरू भएयता सुनको भाउ बढ्दो क्रममा छ,” शाक्यले भने। “युद्ध मत्थर भयो अथवा युद्धविराम भयो भने त्यसले मूल्य घटाउनमा सहयोग गर्न सक्छ। तर अझ चर्कियो भने त्यसले सुनको मूल्य थप बढ्न सघाउँछ।” उनका अनुसार अमेरिकामा सेप्टेम्बर ११ मा हमला हुँदा, युक्रेन युद्ध शुरू हुँदा पनि सुनको भाउ बढेका विगतका उदाहरण छन्।