उत्तराखण्डमा सुरुङभित्र फसेका ४० मजदुरको उद्धार प्रयास

भारतमा उत्तराखण्ड राज्यमा एउटा भत्किएको सुरुङमा गत आइतवारदेखि फसिरहेका ४० जना मजदुरको ज्यान जोगाउने प्रयास उद्धारकर्मीहरूले गरिरहेको बताइएको छ। फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरुङ निर्माणमा संलग्न थिए। त्यहाँ पहिरोका कारण उक्त निर्माणाधीन सुरुङको केही भाग भत्किँदा मजदुरहरू त्यहाँ फसेका बताइएको छ। ती मजदुरहरूसँग सम्पर्क स्थापित गर्न सफल भएका छन्। उनीहरूलाई खानेकुरा, पानी र अक्सिजन पठाइएको छ। मङ्गलवार राति वा बुधवारसम्म ती मजदुरहरूलाई उद्धार गर्न सकिने अनुमान गरेका छन्। उत्तरकाशी जिल्लामा निर्माण भइरहेको उक्त सुरुङ उत्तराखण्डका प्रसिद्ध तीर्थस्थलहरूलाई जोड्न यातायात व्यवस्थामा सुधार ल्याउने सङ्घीय सरकारको महत्वाकाङ्क्षी राजमार्ग परियोजनाको एक भाग हो। कतिपय हिमाल र हिमनदीहरू रहेको उक्त क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूका केही प्रसिद्ध तीर्थस्थलहरू पनि छन्। आइतवार स्थानीय समयानुसार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो। मजदुरहरूले काम गरिरहेको अवस्थामा सिल्क्यारा सुरुङको मुखदेखि २०० मिटरभित्रको भाग भत्किएको उनले बताए।

नजिकै गएको पहिरोले सुरुङ क्षेत्रमा ठूलो मात्रा ढुङ्गामाटो थुप्रिँदा सुरुङ भत्किएको बताइएको छ। त्यसले गर्दा सुरुङभित्र अक्सिजनको आपूर्ति पनि काटिएको बताइएको छ। आइतवार राति वाकीटकी यन्त्रको माध्यमबाट सुरुङमा फसेका मजदुरहरूसँग सम्पर्क स्थापित भएको थियो। सुरुङभित्र निर्माण कार्यका लागि पानी लग्न बनाइएको पाइपलाइनको प्रयोग अहिले ती मानिसहरूसम्म अक्सिजन, खानेकुरा र पिउने पानी पुर्‍याउन भइरहेको छ। फसिरहेका मानिसको उद्धार गर्न त्यस क्षेत्रमा उत्खनन सुरु गर्नुअघि उद्धारकर्मीहरूले त्यहाँ थुप्रिएको ढुङ्गामाटोको कैयौँ मिटर अग्लो विशाल डङ्गुर हटाउनुपर्ने छ। त्यसका लागि एक्स्कभेटर र अन्य ठूला उपकरणहरूको प्रयोग भइरहेको छ। मजदुरहरूसम्म पुग्न मङ्गलवार बिहान ढुङ्गामाटोले पुरिएको सुरुङको भागमा ९०० मिमिको पाइप छिराउनका लागि त्यस स्थानमा ड्रिल गर्ने प्रयासमा उद्धारकर्मीहरू लागिरहेका राज्य सरकारले जनाएको थियो।

Spread the love