केरा खानुका फाइदाहरू

केरा संसारका सबै स्थानमा सर्वसुलभ तरिकाले प्राप्त गर्न सकिने लोकप्रिय फलफूलभित्र पर्छ । संसारभर लगभग सबै मौसममा, धेरै स्थानमा र विभिन्न वातावरणमा पनि केराको उत्पादन हुन्छ । केरा भिटामिन सीको पनि राम्रो स्रोत हो । जुन भिटामिनले कोष तथा तन्तु खराब हुनबाट बचाउने, आइरन तत्त्व अवशोषण गर्न सहयोग गर्ने, कोलाजेन तत्त्वको उत्पादन गर्ने जसले छाला, हाड आदिलाई स्वस्थ राख्ने, सेरोटोनिन हर्मोन उत्पादन गरी मस्तिष्कको स्वास्थ्य राम्रो बनाउने, निद्रा लगाउने, मुड राम्रो बनाउने र तनाव हटाउने जस्ता कार्य गर्छ ।केराको सेवनले उच्च रक्तचाप तथा क्यान्सरको जोखिम कम गराउने काम गर्छ । केराको सेवनले स्वास्थ्यमा गर्ने फाइदाहरू

– केरामा बढी मात्रामा अत्यावश्यक पौष्टिक तत्त्व पाइने जसले पाचन प्रणाली, मुटुलाई राम्रो बनाउने र तौल घटाउने समेत काम गर्छ ।

– केरामा पाइने पेक्टिन एउटा घुलनशील फाइबर हो, जसले पेट पूरा भएको वा अघाएको अनुभव गराउँछ र आमाशय छिटो खाली हुने प्रक्रियासमेत घटाउँछ । त्यस कारण बेलुका केरा खाएर सुत्दा भोकको अनुभव नहुने हुँदा राम्रो निद्रा          पर्छ ।

– केरामा पाइने नपच्ने खालको स्टार्चलाई ब्याक्टेरियाले प्रशोधन गरी बुटाइरेट बनाइदिन्छन्, जसले आन्द्राको कार्यक्षमता बढाउने, कब्जियत नहुने, आन्द्रामा सुजन हुन नदिने र राम्रो पाचन प्रक्रिया सहयोग हुने।

– दिनहुँ केराको सेवन गरेमा आँखाको दृश्य क्षमतासमेत राम्रो हुन्छ ।

– केरामा पाइने घुलनशील फाइबरले कब्जियत हुन नदिने, कोलेस्टेरोल र रक्तचाप नियन्त्रण राख्ने, रगतमा सुगरको तह मिलाउने र अघाएको अनुभूतिसमेत दिलाउँछ ।

-पाचन प्रणालीको स्वास्थ्य संवर्धन गर्दछ र झाडापखालाको समस्यामा यसले औषधीकै काम गर्छ । झाडापखाला हुँदा अत्यधिक मात्रामा खेर जाने पोटासियमको मात्रा केराले तुरुन्तै आपूर्ति गर्दछ जसले गर्दा पखाला लाग्दा समेत कमजोरी महसुस् हुँदैन ।

-केरामा पाइने म्याग्निज तत्त्वले छालालाई स्वस्थ र राम्रो बनाउँछ ।

-मुटु पोल्ने र आमाशयमा घाउ (पेप्टिक अल्सर) भएमा पनि यसलाई औषधीका रूपमा प्रयोग गरी निको बनाउन सकिन्छ । केराले आमाशयको पिएचको मात्रालाई सन्तुलन गराई म्युकस तहको उत्पादन बढाउँछ, पेट दुखाइसमेत निको बनाउँछ । यसमा पाइने फाइबरका कारण आमाशयको खानालाई छिटो अघि बढाई अम्लपित्तको समस्यासमेत निको बनाउँछ ।

Spread the love