‘सुगर’ के हो र कसलाई हुन सक्छ

मधुमेह एउटा गम्भीर स्वास्थ्य समस्या हो जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ। जोसुकैलाई पनि यो रोग लाग्न सक्छ। यसलाई चिकित्सकीय भाषामा ‘डाइअबीटीज’ भनिन्छ। रगतमा चिनीको मात्रा बढी हुने भएकाले यसलाई ‘सुगर’ वा ‘चिनी रोग’ पनि भन्ने गरिएको छ। शरीरले रगतमा भएको सबै चिनी (ग्लुकोज) प्रशोधन गर्न नसक्दा मानिसमा हृदयाघात, मस्तिष्काघात र अन्धोपन हुन सक्छ अनि मिर्गौलाले काम गर्न छाड्ने अवस्था पनि निम्तिन सक्छ। खाना खाएपछि हाम्रो शरीरले कार्बोहाइड्रेटलाई टुक्र्याएर ग्लुकोज बनाउँछ। पेटनजिकै अवस्थित प्यान्क्रिअस अर्थात् अग्न्याशय भनिने एउटा ग्रन्थिले इन्सुलिन होर्मन उत्पादन गर्छ जसले हाम्रो शरीरलाई त्यो ग्लुकोजलाई सोसेर पोषण बनाउन निर्देशन दिन्छ। तर इन्सुलिनले राम्ररी काम नगरे वा त्यसको उत्पादन नभए रगतमा चिनी जम्मा हुन थाल्छ। त्यस्तो अवस्थालाई मधुमेह अर्थात् डाइअबीटीज भनिन्छ। मधुमेह भएकामध्ये झन्डै १० प्रतिशत मानिसमा टाइप वन डाइअबिटीज भएको हुन्छ। टाइप टू डाइअबीटीज हुँदा प्यान्क्रिअस ग्रन्थिले पर्याप्त इन्सुलिन उत्पादन गर्दैन र होर्मनले पनि राम्रोसँग काम गर्दैन।

विभिन्न अध्ययनहरूले फरकफरक मापदण्ड प्रयोग गरेर ६ देखि १६ प्रतिशत गर्भवती महिलामा ‘जेस्टेशनल डाइअबीटीज’ देखा पर्ने गरेको जनाएका छन्।  त्यस्तो अवस्था सिर्जना भएका महिलाहरूले चिनीको मात्रालाई आहारा, शारीरिक गतिविधि वा इन्सुलिनको प्रयोग गरेर टाइप टू मधुमेह हुनबाट रोक्नुपर्छ। मानिसहरूमा मधुमेह हुनुअघिका समस्याहरू पनि देखा पर्न सक्छन्। त्यति बेला ग्लुकोजको मात्रा बढी हुने गर्छ र त्यसले पनि मधुमेह गराउन सक्छ।

Spread the love