नेपोलियनको टोपी २७ करोडमा बिक्री

नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ। प्यारिस अक्सनका क्रममा १९औँ शताब्दीमा फ्रान्समा शासन गरेका बोनापार्टको ‘ह्याट’ २१ लाख अमेरिकी डलरमा बिक्री भएको हो। जुन नेपाली रुपैयाँ २७ करोड ८६ लाख बराबर हुन्छ। अधिकांश समय उनले लगाउने गरेको यो विशेष किसिमको सैनिक टोपीको मूल्याङ्कन छ लाख देखि आठ लाख युरो गरिएको थियो। यो टोपी किन्ने व्यक्तिले आफ्नो परिचय सार्वजनिक गरेका छैनन्।  इतिहासकारहरूले यो टोपी उनको ब्रान्ड जस्तै बनेको बताएका छन्। नेपोलियनले यसलाई ढल्काएर लगाउँथे र युद्धका क्रममा उनलाई टाढैबाट पहिचान गर्न सकिन्थ्यो। गत वर्ष मृत्यु भएका एक जना उद्योगपतिले सङ्कलन गरेका नेपोलियनसँग सम्बन्धित स्मरणीय सामग्रीहरूसँगै यो टोपी पनि बिक्रीका लागि राखिएको थियो। यसको बिक्रीमा संलग्नहरूले यो टोपी खास रहेको र पाउन कठिन रहेको बताएका थिए।  दुई तर्फ चुच्चो परेको र त्रिरङ्गी ब्याच भएको फ्रान्सेली शासकको उक्त “ब्ल्याक बिभर” ह्याट फ्रान्सको प्यारिस स्थित ओसेनट अक्सन हाउसमा बिक्रीका लागि राखिनु अघि प्रदर्शनीमा राखिएको थियो।

Spread the love