नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल सरकारले “सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको” भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि टिकटकविरुद्ध गुनासो आइरहेको भन्दै मन्त्रिपरिषद्को बैठकले त्यसबारे निर्णय लिएको बताइन्। “यो निर्णय आजैबाट (सोमवारबाटै) कार्यान्वयनमा जान्छ। यसलाई रोक्ने व्यवस्था मिलाउन हामीले नेपाल टेलिकमलाई जिम्मा दिएका छौँ।” तिहारको समय चलिरहँदा नेपालमा ज्यादै लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लागेको हो।

मन्त्रिपरिषद्को निर्णयसँगै चिनियाँ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पछिल्लो मुलुक नेपाल बनेको छ। भारतमा पनि टिकटकमा प्रतिबन्ध छ। मन्त्री शर्माले तिहारको समयमा प्रतिबन्ध लाग्नु संयोग मात्रै भएको बताइन्।  “यो पटकपटक क्याबिनेटमा छलफल भएको विषय हो। धेरै गुनासाहरू आएका थिए। समाजमा र परिवारमा बसेर हेर्न नसकिने किसिमका सामाग्रीहरू राखिए भन्ने कुरा थियो। गृह मन्त्रालयले टिकटककै प्रतिनिधिलाई बोलाएर पनि त्यसबारे ध्यानाकर्षण गराएको थियो।” आँकडा नभए पनि इन्टरनेट प्रयोग गर्ने धेरै नेपालीहरू मनोरञ्जनका साधनका रूपमा टिकटक हेर्ने गर्छन्। तर मन्त्री शर्माले मनोरञ्जनभन्दा समस्या धेरै भएकाले प्रतिबन्ध लगाइएको बताइन्।   “मनोरञ्जनका लागि आरु सामाजिक सञ्जालहरू पनि छन्। फेसबुक, ट्विटरलगायतका माध्यमलाई हामीले केही पनि गरेका छैनौँ।” कैयौँले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि प्रश्न समेत उठाइरहेका छन्।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार “उल्टो कदम हिँडेको” टिप्पणी गरेका छन्। “सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,” उनले फेसबुकमा लेखेका छन्। “यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।”

Spread the love