मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले पालना गर्नुपर्ने आचरण

मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले पालना गर्नुपर्ने आचरण

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं मितव्ययी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरेको छ ।

आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचार प्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ । संशोधित आचारसंहिताबमोजिम निर्वाचनमा आफैँ उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचार प्रसारमा संलग्न हुन सक्नेछन् । त्यसरी प्रचार प्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने आचारसंहिताले रोक लगाइएको छ ।

ती व्यवस्थाहरूकोे पालना गर्न तथा गर्न लगाउन निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत नेपाल सरकारका मन्त्रीहरूलाई तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत प्रदेश सरकारका मन्त्रीहरूलाई निर्देशन दिइसकेको छ । आचारसंहितामा नेपाल सरकारका मन्त्रीले आयोगको सहमति लिई त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन र प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालय मार्फत वा सोझै आयोगको सहमति लिई त्यसरी सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने व्यवस्था रहेको छ ।

आचारसंहिताबमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन् ।

उत्तर कोरियाद्वारा पहिलो पटक जल सीमाभित्र क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले दक्षिण कोरियातर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। कोरिया विभाजन भएयता पहिलो पटक दुई देशबीचको समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार भएको छ।  छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र दक्षिण कोरियाली टापु उलुङ्डो नजिकै खस्दा त्यस टापुमा हवाई हमलाको चेतावनी दिने साइरन बजेको थियो। उक्त सानो टापुका बासिन्दाहरूलाई भूमिगत आश्रयस्थलमा जान भनिएको छ।  स्थानीय समय अनुसार बिहान ९ बजेतिर प्योङयाङले कुल तीनवटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्रहरू उसको पूर्वी तटतर्फ प्रहार गरेको हो। दक्षिण कोरियाली अधिकारीहरूले तत्कालै ती प्रहारको निन्दा गरेका छन्। राष्ट्रपति युन शुक-योलले राष्ट्र सुरक्षा बैठक बोलाएका छन्। पछिल्ला प्रहारहरू प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई यसै साता कोरियाली प्रायद्वीप आसपास संयुक्त सैन्य अभ्यासहरू नगर्न चेतावनी दिएको एक दिनपछि भएको हो। उत्तर कोरियाले अभ्यासहरूपछि “शक्तिशाली” जवाफहरू दिइने धम्की दिएको थियो।

बाथरुममा चिप्लिएर बालकृष्ण ढुंगेलको मृत्यु

काठमाडौँ : काँडाघारीस्थित उनी बस्दै आएका नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काँडाघारीस्थित उनी बस्दै आएको घरको बाथरुममा चिप्लिएर उनको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले जानकारी दिए । एमाले पोलिटब्युरो सदस्य ढुंगेल नेकपा विभाजन भएपछि एमालेमै बसेका थिए ।

 

जगेडा सैनिकलाई बोलाउने पुटिनको निर्णयविरूद्ध रुसमा ठूला प्रदर्शन

रुसमा युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने मस्कोको निर्णयविरुद्ध देशभर जारी प्रदर्शनबीच सयौँ मानिसहरूलाई पक्राउ गरिएको एउटा स्वतन्त्र अधिकारवादी समूहले जनाएको छ।ओभीडी-इन्फोका अनुसार ७२४ जना मानिसहरू शनिवार रुसका ३२ भिन्न भिन्न सहरबाट पक्राउ परेका थिए। राष्ट्रपति पुटिनले युक्रेनमा लड्नका लागि तीन लाखको सैनिक परिचालन गर्ने घोषणा गरेसँगै देशव्यापी प्रदर्शनहरू भएका छन्।

त साताको सुरुमा मात्र त्यहाँ १ हजारभन्दा धेरै मानिसहरू पक्राउ परेका थिए। समाचार संस्था एएफपीका अनुसार मस्कोमा एक प्रदर्शनकारी पक्राउ पर्दै गर्दा “हामी तोपको चारा होइनौँ” भन्दै चिच्याएको देखिएको थियो।  रुसको दोस्रो सहर सेन्ट पिटर्सबर्गमा एक व्यक्तिले पत्रकारहरूलाई “म पुटिनका लागि युद्धमा जान चाहन्न” भनेका थिए। ७० वर्षीय नताल्या दुबोभाले एएफपीसँग कुरा गर्दै आफू युद्धको विपक्षमा उभिएको बताइन्। शनिवार पक्राउ परेका केहीलाई भर्तीको पत्र थमाइएको र सुरक्षा नियन्त्रणमै रहेका बेला उनीहरूलाई भर्ती केन्द्रहरूमा जान भनिएको बताइएको छ। क्रेमलिनले गत साताको सुरुमा यस अभ्यासको प्रतिरक्षा गर्दै “त्यो कानुन विपरीत नभएको” जनाएको थियो।

रुसद्वारा युद्धविरोधी सयौँ प्रदर्शनकारी गिरफ्तार

युक्रेनमा लड्न हजारौँ जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका सयौँ प्रदर्शनकारीलाई रुसी प्रहरीले पक्राउ गरेको विवरण छ। रुसी मानवअधिकार समूह ओभीडी-इन्फोले कुल एक हजारभन्दा बढी मानिसहरू पक्राउ परेको बताएको छ। सेन्ट पिटर्सबर्ग र मस्कोमा सबैभन्दा धेरै पक्राउ परेका छन्। इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा दर्जनौँ प्रदर्शनहरू भएका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानका टिकटहरूको तीव्र रूपमा बिक्री भएको छ। पुटिनले आंशिक रूपमा सेना परिचालनको आदेश दिएका छन्।उक्त आदेशसँगै हाल जगेडामा राखिएका करिब तीन लाख सैनिकहरूलाई युक्रेनी युद्धभूमिमा हालै रुसी सेनाले बेहोरिरहेको प्रत्याक्रमणको प्रतिरक्षामा प्रयोग गरिनेछ। जगेडा सेनामा ती मानिसहरू समेटिएका छन् जसले अनिवार्य रूपमा रुसी सैन्य सेवा गर्नुपर्छ। रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रहरूमा रुसमा सामेल हुनेबारे जनमतसङ्ग्रह गर्ने घोषणा गरिएको भोलिपल्ट उक्त घोषणा गरिएको हो।युक्रेन र उसका साझेदारहरूले निन्दा गरेको टिप्पणीमा पुटिनले रुसी क्षेत्रको रक्षा गर्न “सबै उपलब्ध साधनहरू” आफूले प्रयोग गर्ने बताएका छन्। त्यसमा आणविक अस्त्र पनि समावेश हुन सक्नेछ। येकातेरिनबर्गको एक भिडियोमा प्रहरीले हिंसात्मक रूपमा प्रदर्शनकारीलाई बसमा राखेको देखाइएको छ। भेस्नाले आफ्नो कार्यलाई “नो टु मोगिलाइजेशन” भनेको छ। त्यो भनेको उसले शब्दमा खेलेको हो किनकि रुसी भाषामा”मोगिला”को अर्थ चिहान हुन्छ। रुसी मानव अधिकार समूह अगोराका वकिल पाभेल चिकोभले अगोराले मंगलवार बिहानदेखि आफ्नो हटलाइनमा सोधपुछका लागि ६ हजार कल प्राप्त गरेको बताए।

राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगर्नु ‘गैरसंवैधानिक कदम

सरकारको प्रस्तावमा संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेपछि गम्भीर संवैधानिक अन्योल सिर्जना भएको छ । संविधानले राष्ट्रपतिलाई जस अपजसको राजनीतिबाट अलग राख्दै सरकार, संवैधानिक आयोग र संसद्ले सिफारिस गरेको काम गर्न स्पष्ट दिशानिर्देश गरेको छ । संसद्ले अनुमोदन गरेको विधेयक राष्ट्रपतिबाट पनि अस्वीकार हुन सक्छ भन्ने परिकल्पना नै संविधानले गरेको छैन ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रपतिको कदमबाट जननिर्वाचित संसद्को “घोर अपमान भएको र संवैधानिक व्यवस्थामाथि प्रहार” भएको निष्कर्ष निकालेको बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ।

“राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएका छन् भने,” विज्ञप्तिमा भनिएको छ, “अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको यो बैठक ठहर गर्दछ।”

राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पुगेको नागरिकता ऐन संशोधन विधेयकमा प्रतिपक्षी राजनीतिक दल र महिला सांसदहरूले कतिपय विषयमा असहमति जनाएका थिए। नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई केही समय परिचयपत्र मात्र दिएर सात वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था राख्नुपर्ने राज्य व्यवस्था समितिको प्रस्तावविपरीत तत्कालै नागरिकता दिने व्यवस्था राखिएको भन्दै प्रतिपक्षी दलहरूले विधेयकमा आपत्ति जनाएका थिए।

संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरण गर्ने विषयमा राष्ट्रपतिको भूमिकासम्बन्धी व्यवस्था छ । उपधारा (२) मा भनिएको छ, ‘राष्ट्रपतिसमक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्नेछ ।’ तर संसद्बाट आएको विधेयक पुनर्विचार हुनुपर्छ भन्ने लागेमा राष्ट्रपतिलाई त्यस्तो अधिकार पनि संविधानले दिएको छ, जसका लागि उपधारा (३) मा भनिएको छ, ‘विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेस भएको १५ दिनभित्र निजले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनेछ ।’ नागरिकता संशोधन विधेयकमा असन्तुष्ट राष्ट्रपतिले यसअघि १५ औं दिनमा संसद्मा फिर्ता पठाएकी थिइन् ।

असोजको सुरुबाटै संसद्को कार्यकाल सकिएका कारण भण्डारीलाई महाभियोग लगाउन सकिने विकल्प भने बाँकी नरहेको संविधानका जानकारहरू बताउँछन्। केसी तथा कतिपय संविधानविद्हरूले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै राष्ट्रपतिले राजीनामा दिनुपर्ने माग उठाएका छन्। तर राष्ट्रपतिको सचिवालयले उनले राजीनामा नदिने दाबी गरेको छ।

हात्तीसारको सिद्धार्थ बैंक पछाडि पनि टुकुचा

काठमाडौं : महानगरपालिकाले डोजर लगाएर काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोलाको उत्खनन गरिएको छ । सो क्षेत्रमा उत्खनन गर्दा गायब अवस्थमा रहेको टुकुचा खोला भेटिएको महानगरपालिकाले जनाएको छ ।टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाउँदै आइरहेको छ । बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको थियो । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको कम्पाउन्डमा पनि महानगरले टुकुचा खोला उत्खनन गरेको थियो ।

सी जिन्पिङबीच उज्बेकिस्तानमा भेट – सी राष्ट्रपतिद्वारा चीनको प्रशंसा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई युक्रेन मामिलामा बेइजिङको “सन्तुलित अडान”का लागि धन्यवाद दिएका छन्। मस्कोले युक्रेनमा अतिक्रमण सुरु गरेपछि रुस र चीनका राष्ट्रपतिहरू पहिलोपटक प्रत्यक्ष रूपमा बिहीवार उज्बेकिस्तानको समरकन्दमा भेटेका हुन्। पुटिनले त्यहाँ “एकल ध्रूविय विश्व” खडा गर्ने प्रयासहरूको निन्दा गरेका छन्। राष्ट्रपति सीले चीनले “ठूला शक्तिका रूपमा” रुससँग सहकार्य गर्न खोजेको बताएका छन्। भेटवार्तापछि प्रतिक्रिया दिँदै उनले रुसलाई कुनै नयाँ सहयोगको घोषणा नगरेको बताए।

चीनले युक्रेनमा रुसको अतिक्रमणलाई समर्थन गरेको छैन तर युद्ध सुरु भएयता मस्कोसँग उसको व्यापार र अन्य सम्बन्ध निरन्तर बढ्दो छ। पछिल्ला दिनमा रुसी फौजले यसअघि नियन्त्रणमा लिएका युक्रेनी क्षेत्रहरू गुमाइरहेको महत्त्वपूर्ण समयमा साङ्घाई सहकार्य सङ्गठनको सम्मेलनको अवसरमा दुई नेताहरूबीच भेट भएको हो।दुवै नेताहरूबीचको यसअघिको भेट शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा गत फेब्रुअरीमा भएको थियो। जसक्रममा उनीहरूले एक संयुक्त वक्तव्य जारी गर्दै द्विपक्षीय सम्बन्धको “कुनै सीमा नभएको” जनाएका थिए।

रुसको लक्षित आक्रमणका कारण खार्किभ क्षेत्रमा अन्धकार

रुसले युक्रेनी प्रत्याक्रमणविरुद्ध पूर्वी युक्रेनमा विद्युत् कटौती गरेर “मानिसहरूलाई उज्यालो र न्यानोबाट वञ्चित” गर्ने लक्ष्य राखेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। विद्युत् पूर्ण रूपमा काटिनुले खार्किभ र डोनेट्स्कलगायत पूर्वी क्षेत्रका करिब ९० लाख मानिस प्रभावित भएको बताइएको छ। युक्रेनको सेनाले पूर्वमा तीव्र गतिमा गरिएको प्रत्याक्रमणका क्रममा आफ्नो फौजले ३,००० वर्गकिलोमिटरभन्दा धेरै गुमेको क्षेत्रफल पुन:प्राप्ति गरेको जनाएपछि ब्ल्याकआउट भएको हो। यद्यपि, बीबीसीले युक्रेनले दाबी गरेको तथ्याङ्कहरूको पुष्टि गर्न सकेको छैन।

खार्किभका मेयर इहोर तेरेखोभका अनुसार रुसले नागरिक पूर्वाधारमा गरेको आक्रमणका कारण सहरको धेरैजसो भागमा बिजुली र पानी छैन। खार्किभस्थित   अन्तर्राष्ट्रिय संवाददाता ओर्ला ग्वेरिनले अबेर साँझ त्यहाँ थप दुईवटा क्षेप्यास्त्र हमलाहरू भएको जस्तो आवाज सुनिएको बताइन्।  मेयर तेरेखोभ र त्यस क्षेत्रका गभर्नरले मानिसहरूलाई शान्त रहन आह्वान गर्दै आपत्कालीन सेवाहरूले क्षतिको मर्मत गर्न र आगो नियन्त्रण गर्न काम गरिरहेको जानकारी दिए। छिमेकी सुमी क्षेत्रका गभर्नरले त्यहाँको एक जिल्लामा मात्रै १३० भन्दा बढी बस्ती विद्युतविहीन रहेको बताए। विद्युत् कटौतीपछि राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत् रुसले नागरिक पूर्वाधारलाई लक्षित गरेर “आतङ्कवादी कार्य” गरेको आरोप लगाएका छन्।

त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको  छ।  आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो।  प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको छ। नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सोही ढुंगा टिपेर प्रहरीले पनि क्याम्पसभित्र रहेका नेविसंघलाई प्रहार गरेको थियो। दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अहिलेसम्म पारित नगरी राष्ट्रपतिले शितल निवासमा विभिन्न व्यक्तिहरूसँग भेला गरेकोमा नेविसंघले आपत्ति जनाएको छ।