चितवन २ बाट भारी मतान्तरले रवि लामिछाने निर्वाचित

चितवन २ बाट भारी मतान्तरले रवि लामिछाने निर्वाचित

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन्।   प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मतले विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका हुन । चितवन २बाट लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरे भने श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत प्राप्त गरेका छन ।

गणनास्थलतर्फ लगियो काठमाडौंका मतपेटिका

४ मंसिर, काठमाडौं : मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिका संकलन सुरु गरिएको छ । आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरु गणनास्थलमा लैजान थालिएको छ । काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

विहान ७ बजेदेखि मतदान

प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान हुदैछ र देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएका छन् ।

चुनावमा दुई दिन सार्वजनिक विदा दिने

गृह मन्त्रालयले आज एक सूचनामार्फत् आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।सरकारले  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ । मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने मङ्सिर २ देखि ५ गतेसम्म विदा दिइएको छ । निर्वाचन आयोगले यसअघि नै निर्वाचनमा बढीभन्दा बढी सहभागिता रहोस् भनेर सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको थियो ।यसैबीच त्रिभुवन विश्वविद्यालयले पनि आगामी मङ्सिर १ देखि ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । विश्वविद्यालयका

अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको छ ।

 

सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

मतपत्र मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याईएको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । निर्वाचन आयोगले यसअघि तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको छ ।

उम्मेदवारहरूलाई निर्वाधरूपमा प्रचारप्रसारको उपयुक्त वातावरण निर्माण गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदाताहरूलाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिएको छ । डडेलधुरालगायत विभिन्न जिल्लाहरूमा उम्मेदवारहरूले निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयहरूप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सो निर्देशन दिएको हो ।

“नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्यमान्यताप्रति पूर्ण प्रतिवद्धता व्यक्त गरिएको छ ।” आयोगको निर्देशनमा भनिएको छ, “नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानूनको अधीनमा रही आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता र मितव्ययिता कायम गर्दै आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गरिरहेको छ । निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने आम लोकतान्त्रिक विश्वासलाई कायम राख्नु आयोगको संवैधानिक जिम्मेवारी हो ।”

आवधिक निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने हुँदा सार्वभौम मतदाता र आफ्नो लागि सार्वभौम जनताको मत र विश्वास माग गर्ने उम्मेदवार दुवै कानूनबमोजिम निर्वाचन प्रचारप्रसार गर्न स्वतन्त्र रहने भएकाले सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानूनबमोजिम निर्वाचन प्रक्रियामा निर्वाध सहभागी हुने अक्षुण्ण अधिकार रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन नहुने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

डोटीको भूकम्प प्रभावित क्षेत्र

२३ कात्तिक, काठमाडौं : डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।  स्थानीयका अनुसार पुराना कच्ची घरहरु भत्किएका छन् । राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएका थिए । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको  भैरवप्रसाद गण डोटी लगायतको टोली खटिएको छ ।  भूकम्पबाट जोगिएकाहरुले चिसो रात खुला आकाशमुनि बिताएका छन् । राति ९ बजेर ७ मिनेटमा पनि दिपायल केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि पटक–पटक झट्का महसुस भएको थियो । भूकम्पको झट्का बझाङ, कैलाली, कञ्चनपुर, बाँके, रुकुम पश्चिममा समेत महसुस भएको थियो ।

आज चन्द्रग्रहण

आज  खग्रास चन्द्रग्रहण लाग्दै छ । सामान्यतया ग्रहण दुई किसिमका हुन्छन्- सूर्यग्रहण र चन्द्रग्रहण। पृथ्वी, चन्द्रमा र सूर्य  एउटा सीधा रेखामा पुग्दा बीचमा रहेको पृथ्वीको छायाले चन्द्रमालाई ढाक्ने अवस्था नै चन्द्र ग्रहण हो।

पृथ्वीको छाया चन्द्रमामा पर्ने यस खगोलीय घटना “नाङ्गो आँखा”ले हेर्न मिल्छ या मिल्दैन भन्ने विषयमा भने जानकारहरूमा फरक मत पाइन्छ।मङ्गलवार लाग्ने वर्षको दोस्रो चन्द्रग्रहण नेपालबाट पनि देखिने जानकारहरूले बताएका छन्।

ज्योतिषीका अनुसार ज्योतिषशास्त्रमा चन्द्रग्रहण सीमित राशिहरूले मात्र हेर्न मिल्ने जनाइएको छ। केही राशिहरूलाई नकारात्मक असर पर्ने भएकाले नाङ्गो आँखाले ग्रहण हेर्नु उचित मानिँदैन। परामर्श अनुरूप जसलाई नराम्रो प्रभाव पर्दैन उनीहरूले मात्र हेर्नु ठिक।यस किसिमको ग्रहण लाग्दा छायाको आकारका आधारमा ग्रहण परेको ठाउँमा चन्द्रमाको सतह गाढा रातो, खियाको जस्तो वा खरानी रङ्गको देखिन्छ।उनका अनुसार सूर्यग्रहण हुनुभन्दा अघिको बाह्र घण्टा र चन्द्रग्रहण हुनुभन्दा अगाडिको ९ घण्टालाई सुतककाल मानिन्छ। सुतक अवधिमा पनि शास्त्रले भोजन निषेध गरेको  छ।ज्योषितशास्त्रले सुतककाललाई अशुभ समयको रूपमा व्याख्या गर्ने ज्योतिषीहरूको दाबी छ। यस्तो अवधिमा शुभ कार्यहरू गर्न नहुने उनीहरू बताउँछन्।

आज हरिबोधिनी एकादशी पर्व मनाइँदै

काठमाडौं : हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछन् ।हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना  बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् ।हरिशयनी एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा रहेको छ ।आज हरिशयनी एकादशीका दिनमा सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ ।आजका दिन काठमाडौंको बुढानीलकण्ठका साथै उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशंखुनारायण लगायत देशभरका विष्णु मन्दिरहरुमा विशेष मेला लागेको छ ।

मतदाता शिक्षाका लागि नमूना मतदान

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमूना मतदान गरिएको छ । उक्त मतदानमा शत प्रतिशत मत सदर भएको छ ।

कैलाालीको निर्वाचन क्षेत्र नं. ३ को सुख्खड स्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमूना मतदानमा ४२ मत खसेकोमा सबै मत सदर भएको थियो । प्रदेश निर्वाचन कार्यालय, धनगढीको पहलमा भएको नमूना मतदानमा नगरपालिकाका प्रमुख खडक रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिइरहने स्वास्थ्य स्वयम्सेविका, पालिकाका कर्मचारीलगायत सहभागी हुनुभएको थियो । सो अवसरमा नगर प्रमुख रावतले नमूना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत संख्या घट्ने बताउनुभयो ।
निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उदेश्यले नमुना मतदान गरिएको बताउनुभयो । उहाँले निर्वाचनमा मतदान गर्ने तरिका लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।
यस अघि कैलालीको निर्वाचन क्षेत्र नं. ४ को गोदावरी नगरपालिका क्षेत्रमा पनि नमूना मतदान कार्य सम्पन्न भएको थियो । जिल्लाका अन्य पालिकामा पनि नमूना मतदानको तयारी गरिएको छ ।

यसबाहेक यही कात्तिक १८गतेबाट कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रका वडा र टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न एकसय २६ महिला स्वयम्सेवी परिचालन गर्न लागिएको छ । स्थानीय पालिकाहरुबाट निर्वाचन सम्बन्धी आवश्यक तालिम लिएका महिला स्वयम्सेवीलाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गर्न लागिएको हो । निर्वाचन कार्यालयले स्थानीय तहको एकजना अधिकृत तहको कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति (अनुगमन अधिकृत)को रूपमा खटाउन लागेको छ ।