रुसद्वारा युद्धविरोधी सयौँ प्रदर्शनकारी गिरफ्तार

युक्रेनमा लड्न हजारौँ जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका सयौँ प्रदर्शनकारीलाई रुसी प्रहरीले पक्राउ गरेको विवरण छ। रुसी मानवअधिकार समूह ओभीडी-इन्फोले कुल एक हजारभन्दा बढी मानिसहरू पक्राउ परेको बताएको छ। सेन्ट पिटर्सबर्ग र मस्कोमा सबैभन्दा धेरै पक्राउ परेका छन्। इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा दर्जनौँ प्रदर्शनहरू भएका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानका टिकटहरूको तीव्र रूपमा बिक्री भएको छ। पुटिनले आंशिक रूपमा सेना परिचालनको आदेश दिएका छन्।उक्त आदेशसँगै हाल जगेडामा राखिएका करिब तीन लाख सैनिकहरूलाई युक्रेनी युद्धभूमिमा हालै रुसी सेनाले बेहोरिरहेको प्रत्याक्रमणको प्रतिरक्षामा प्रयोग गरिनेछ। जगेडा सेनामा ती मानिसहरू समेटिएका छन् जसले अनिवार्य रूपमा रुसी सैन्य सेवा गर्नुपर्छ। रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रहरूमा रुसमा सामेल हुनेबारे जनमतसङ्ग्रह गर्ने घोषणा गरिएको भोलिपल्ट उक्त घोषणा गरिएको हो।युक्रेन र उसका साझेदारहरूले निन्दा गरेको टिप्पणीमा पुटिनले रुसी क्षेत्रको रक्षा गर्न “सबै उपलब्ध साधनहरू” आफूले प्रयोग गर्ने बताएका छन्। त्यसमा आणविक अस्त्र पनि समावेश हुन सक्नेछ। येकातेरिनबर्गको एक भिडियोमा प्रहरीले हिंसात्मक रूपमा प्रदर्शनकारीलाई बसमा राखेको देखाइएको छ। भेस्नाले आफ्नो कार्यलाई “नो टु मोगिलाइजेशन” भनेको छ। त्यो भनेको उसले शब्दमा खेलेको हो किनकि रुसी भाषामा”मोगिला”को अर्थ चिहान हुन्छ। रुसी मानव अधिकार समूह अगोराका वकिल पाभेल चिकोभले अगोराले मंगलवार बिहानदेखि आफ्नो हटलाइनमा सोधपुछका लागि ६ हजार कल प्राप्त गरेको बताए।

Spread the love