नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’

पश्चिम नेपालको दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि “अन्तिम चरणको ड्रिलिङ” कार्य सुरु गर्न लागिएको  छ। त्यसका लागि उत्तरी छिमेकी देश चीनबाट ९० प्रतिशतभन्दा बढी उपकरणहरू पहिचान गरिएको क्षेत्रमा पुगिसकेको उनीहरूको भनाइ छ। अन्वेषणका लागि गरिने अन्तिम ‘ड्रिलिङ’का निम्ति आवश्यक पर्ने पूर्वाधारहरू बनाउने काम पनि सकिएको र अब चाँडै उक्त कार्य सुरु हुने बताइएको छ।  नेपाल र चीनबीच भएको द्विपक्षीय सहमति बमोजिम चीनबाटै आएको जनशक्तिले ‘ड्रिलिङ’को काम गर्नेछ। खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन भइसकेकाले अबको एक साताभित्र “अन्तिम ड्रिलिङ”को काम सुरु हुनेछ।”दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर-१ स्थित जलजले भन्ने स्थान पहिचान गरिएको छ। त्यहाँ ४५ रोपनी जग्गा अधिग्रहण पनि भइसकेको छ।” “अन्वेषणका निम्ति ड्रिलिङ गर्न आवश्यक संरचनाहरू तयार भइसकेका छन्। उपकरणहरू चीनबाट ल्याउने काम पनि लगभग पूरा भएको छ।”  सुरक्षाकर्मीको प्रबन्ध गर्ने तथा कामदारहरूलाई बस्नका लागि शिविर बनाउने काम पनि सकिएको छ।

नापितले दिएको जानकारी अनुसार उक्त क्षेत्रमा पेट्रोलिय पदार्थ भए/नभएको र भएमा व्यावसायिक रूपमा निकाल्दा फाइदा हुन्छ कि हुँदैन भन्ने तय गर्न यो ‘ड्रिलिङ’ महत्त्वपूर्ण रहेको छ। उक्त स्थानमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनले नेपाललाई सहयोग गरिरहेको छ। नापितले भने, “यो अन्वेषणबाट त्यहाँ तेल वा ग्यास छ भन्ने पत्ता लाग्यो भने त्यसले उत्पादनको ढोका खोल्ने छ र यसले नेपालमा पहिलो पटक पेट्रोलियमको खानी रहेको कुरालाई यो हदमा पुगेर पुष्टि गर्नेछ।” उक्त ‘अन्वेषणात्मक ड्रिलिङ’ नै त्यहाँ व्यावसायिक रूपमा पेट्रोलियम पदार्थ उत्खनन गर्न सकिन्छ कि सकिदैँन भनेर पुष्टि गर्ने अन्तिम चरण भएको नापितको भनाइ छ।

Spread the love