जगेडा सैनिकलाई बोलाउने पुटिनको निर्णयविरूद्ध रुसमा ठूला प्रदर्शन

रुसमा युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने मस्कोको निर्णयविरुद्ध देशभर जारी प्रदर्शनबीच सयौँ मानिसहरूलाई पक्राउ गरिएको एउटा स्वतन्त्र अधिकारवादी समूहले जनाएको छ।ओभीडी-इन्फोका अनुसार ७२४ जना मानिसहरू शनिवार रुसका ३२ भिन्न भिन्न सहरबाट पक्राउ परेका थिए। राष्ट्रपति पुटिनले युक्रेनमा लड्नका लागि तीन लाखको सैनिक परिचालन गर्ने घोषणा गरेसँगै देशव्यापी प्रदर्शनहरू भएका छन्।

त साताको सुरुमा मात्र त्यहाँ १ हजारभन्दा धेरै मानिसहरू पक्राउ परेका थिए। समाचार संस्था एएफपीका अनुसार मस्कोमा एक प्रदर्शनकारी पक्राउ पर्दै गर्दा “हामी तोपको चारा होइनौँ” भन्दै चिच्याएको देखिएको थियो।  रुसको दोस्रो सहर सेन्ट पिटर्सबर्गमा एक व्यक्तिले पत्रकारहरूलाई “म पुटिनका लागि युद्धमा जान चाहन्न” भनेका थिए। ७० वर्षीय नताल्या दुबोभाले एएफपीसँग कुरा गर्दै आफू युद्धको विपक्षमा उभिएको बताइन्। शनिवार पक्राउ परेका केहीलाई भर्तीको पत्र थमाइएको र सुरक्षा नियन्त्रणमै रहेका बेला उनीहरूलाई भर्ती केन्द्रहरूमा जान भनिएको बताइएको छ। क्रेमलिनले गत साताको सुरुमा यस अभ्यासको प्रतिरक्षा गर्दै “त्यो कानुन विपरीत नभएको” जनाएको थियो।

Spread the love