काठमाडौंको गोठाटारमा गोली चल्यो

काठमाडौंको गोठाटारमा गोली चल्यो

काठमाडौँ — काठमाडौंको गोठाटारस्थित जम्बु डाँडामा गोली चल्दा एक जना घाइते भएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार उक्त स्थानमा प्रहरीको टोली पुगिसकेको छ ।  गोली चलेपछि उक्त स्थानमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । गोली प्रहारको कारण भने खुलिसकेको छैन । स्थानीयहरूले भने उक्त स्थानमा तीन राउन्ड गोली चलेको दाबी गरेका छन् । घटनापछि उक्त स्थानमा स्थानीयहरूको भीड नै लागेको थियो । अहिले प्रहरी टोलीले घटनास्थलको भीड तितरबितर पार्दै घटनाबारे विवरण लिइरहेको जनाएको छ ।

महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार

राजा चार्ल्सले महारानीको अन्तिम संस्कारको पूर्वसन्ध्यामा दिएको सन्देशमा विश्वभरिबाट प्राप्त भएको समर्थनबाट आफूलाई “गहिरोसँग छोएको” बताएका छन्। उनले आफू र क्वीन कन्सोर्ट कमिलाका लागि सबैजनाले आ-आफ्नो स्थानबाट “असीमित” समवेदन प्रकट गर्ने कष्ट गरेकोमा आफू धन्य भएको पनि बताए। उनले भने, “हामीले हाम्रो अन्तिम बिदाइ गर्ने तयारी गर्दैगर्दा म तपाईँहरूलाई धन्यवाद भन्न यो अवसर उपयोग गर्न चाहन्छु।” राजकीय अन्तिम संस्कार ब्रिटिश समय अनुसार ११ बजे वेस्टमिन्स्टर एबीमा सुरु हुनेछ। समारोहमा विश्वभरिका करिब दुई हजार जनाको उपस्थिति हुने अपेक्षा गरिएको छ। त्यसमध्ये पाँच सय जना जति विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री र विदेशी राजपरिवारका सदस्य सामेल हुन्छन्। त्यहाँ राजाले सबैभन्दा लामो शासन गर्ने महारानीको शोकमा राष्ट्रको नेतृत्व गर्नेछन्।

लिखित सन्देश

बकिङ्गम दरबारले जारी गरेको लिखित सन्देशमा राजाले भनेका छन्, “पछिल्ला दश दिनमा म र मेरी श्रीमतीले यो देश र विश्वभरिबाट प्राप्त गरेका धेरै समवेदना र समर्थनका सन्देशहरूले हामीलाई गहिरो रूपमा छोएको छ।”लन्डन, एडिनबरा, हिल्सब्रो र कार्डिफमा जसले मेरी प्यारी आमा स्वर्गीय महारानीको जीवनभरिको सेवाका लागि आएर श्रद्धाञ्जली दिने कष्ट उठाए त्यसमा हामी सबैजनाले असीमित कुरा पायौँ।”हामी सबैले हाम्रो अन्तिम बिदाइको तयारी गर्दा म यो अवसरलाई उपयोग गर्दै ती सबै अनगिन्ती व्यक्तिहरूलाई धन्यवाद भन्न चाहन्छु जसले मेरो परिवार र मलाई यस दुःखको घडीमा यस्तो सहयोग र सान्त्वना दिएका छन्।”उनको अन्तिम संस्कारको पूर्वसन्ध्यामा बकिङ्गम दरबारले महारानीको हालसम्म नदेखिएको तस्बिर पनि जारी गरेको छ। गत मे महिनामा महारानीको हिरक महोत्सव समारोहअघि रनाल्ड मकेक्नीले लिएको तस्बिरमा महारानी उनको विन्डसर कासलस्थित निवासमा प्रफुल्ल मुद्रामा देखिएकी छन् ।उनले नीलो पोसाक लगाएकी छन्। महारानीले आफूलाई मनपर्ने मोतीको हार, मोतीको झुम्का र उनका पिताले उनलाई दिएका गहनाहरू लगाएकी छन्। राजा चार्ल्सले आइतवार साँझ बकिङ्गम दरबारमा अन्तिम संस्कारमा भाग लिन आएका राष्ट्रप्रमुखका लागि एक समारोहको आयोजना गरे। आइतवार साँझ ८ बजे यूकेभरि राष्ट्रिय शोकका रूपमा मौन धारण गरियो।

यो साता हजारौँ मानिसहरू महारानीको सार्वजनिक श्रद्धाञ्जलीका लागि उनको शव हेर्न लामबद्ध भएका छन्। त्यो क्रम यूकेको समयअनुसार सोमबार बिहान साढे ६ बजे सकिन्छ। सोमवार १०:४४ बजे महारानीको शवपेटिकालाई शाही नौसेनाको द स्टेन गन क्यारियजमा राखेर वेस्टमिन्स्टरको दरबारबाट वेस्टमिन्स्टर एबीसम्म शवयात्रा गर्दै लगिनेछ। प्रिन्स जोर्ज र प्रिन्सेस शार्लोट पनि रानीको अन्तिम संस्कारमा उपस्थित हुनेछन् र शवयात्रामा रानीको शववाहनको पछाडि हिँड्नेछन्। शववाहनलाई लन्डनको हाइड पार्क कर्नर एबीदेखि वेलिङ्टन आर्चसम्म पैदलै लगिनेछ। सैन्य कर्मचारी र प्रहरीले लाइन लागेर हिँडाएको लाममा हरेक एक मिनेटको फरकमा बिग बेनले घण्टी बजाउने छ किनभने शवयात्रा राजधानीका सडकबाट बिस्तारै जानेछ।

पहिरोमा परेर अछाममा कैयौँको मृत्यु

अछाम जिल्लाका विभिन्न भागमा गएको पहिरोमा परेर हालसम्म १७ जनाको ज्यान गएको र ६ जना बेपत्ता भएको विवरण आएको छ। सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा कम्तीमा १७ जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। अविरल वर्षाका कारण आएको पहिरोले घर पुर्दा अधिकांशको ज्यान गएको छ। रिजालका अनुसार जिल्लाका तीनवटा स्थानीय तहका चार स्थानमा पहिरोका घटना भएको जानकारी आएको छ। तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा हालसम्म चार जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको रिजालले बताए। पहिरोले घर पुरिँदा कमलबजार नगरपालिकाको वडा नम्बर- ६ मा सात जना र वडा नम्बर-८ मा ५ जनाको निधन भएको छ। त्यस्तै पहिरोकै कारण ढकारी गाउँपालिकामा एउटा घर पुरिँदा एकजनाको निधन भएको छ। जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन र सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको बताइएको छ।

गर्भावस्थाको ९ महिना के के गर्ने ?

६० बर्ष देखि मेसिनमा बन्द भएर कानुनको बिषय पढेर लेखे..

६० बर्ष देखि मेसिनमा बन्द भएर कानुनको बिषय पढेर उनले किताब लेखे.
संसारमा यस्ता धेरै मान्छे छन् जसले खराब परिस्थितिसँग हार मानेनन् आफ्नो सपनाको लागि संघर्ष गरे र उनले जित पनि हाँसिल गरे।
यस्ता ब्यक्तिहरुले संसारमा धेरै उदाहरण पेश गरेका छन् ति मध्य एक हुन “The man in iron luge” नामले प्रख्यात paul alexander जो ६० बर्षदेखी मेसिनमा थुनिएका छन् ।

यो मेसिनमा हरेक एक-एक सासको लागि संघर्ष गर्दै गर्दा पलले आफ्नो कानुनको बिषय मात्र पढेनन उनले एउटा कानुनको किताब पनि लेखिदिए…

पललाई १९५२ देखि सास फेर्न समस्या भइरहेको छ, सास फेर्न आइरन लंग (मेसिन फोक्सो)को सहारा लिनु परिरहेको छ। यसै मेसिनमा सुति-सुति उनले आफ्नो पढाइ पूरा गर्न र किताब लेख्नमा सफ़ल भए।

यस्तो परिस्थितिमा पनि हार नमानेको भन्दै सामाजिक संजालमा उनको प्रशंसा भइरहेको छ भने केही ब्यक्तिले उनिबाट प्रेरणा लिइरहेका छन् ।

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन

यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्।बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए। महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन् । उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन्। लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छन्।

एउटा विज्ञप्ति जारी गर्दै बकिङ्गम दरबारले भनेको छ, ”आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ। राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन्।”

चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा राखेपछी उनका सबै सन्तानहरू एबरडीन नजिकैको बाल्मोरलमा गएका थिए। महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहाँ थिए भने अर्का नाति राजकुमार ह्यारी बाटोमा नै रहेका थिए। महारानी एलिजाबेथ द्वितीयाबाट मंगलबार मात्रै पदभार ग्रहण गरेकी ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले “महारानी आधुनिक ब्रिटेन निर्माण भएको चट्टान जस्तै भएको र उनले हामीलाई आवश्यक स्थीरता र शक्ति प्रदान गरेको” बताएकी छन्।नयाँ राजाका बारेमा बोल्दै उनले भनिन्ः ” हामी उनी समक्ष उनको आमाले यति लामो समयसम्म यति धेरै मात्रामा व्यक्त गरेको जसरी नै हाम्रो बफादारी र समर्पण प्रस्तुत गर्दछौँ” “र दोस्रो एलिजाबेथ युगको अन्त्यसँगै हाम्रो महान् देशको उल्लेखनीय इतिहासमा हामी नयाँ युगको स्वागत गर्दछौँ, सम्भवतः ठीक महारानीले चाहना गरेको जस्तै गरी र भन्छौँ गड सेभ द किङ् (ईश्वरले राजाको रक्षा गरुन् )।”

‘लार्भा खोज र नष्ट गर’ डेंगु नियन्त्रण अभियान

काठमाडौं : सरकारले डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ को अभियानलाई तीव्र बनाउने भएको छ। स्वास्थ्य, खानेपानी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवम् अन्य उच्चपदस्थ पदाधिकारीहरुको उपस्थितिमा नेपालमा हाल देखिएको डेंगु रोगको प्रकोपको प्रतिकार्य, नियन्त्रण तथा रोकथामसम्बन्धी विषयमा छलफल गर्न उच्चस्तरीय बैठक बसेको थियो। बैठकले रोग रोकथाम तथा नियन्त्रणका लागि यथाशिघ्र मोबाइल रिङ्गटोन बनाई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।  रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जानकारी दिए।

 

पाकिस्तानको विध्वंसकारी बाढी

पाकिस्तानको विनाशकारी बाढी विश्वका लागि जलवायु परिवर्तनको जोखिमसम्बन्धि चेतावनी भएको विज्ञहरूले बताएका छन्।त्यति विघ्न वर्षाले गरिब मात्र नभई विश्वका कुनै पनि देशमा विध्वंस मच्चाउने एक जलवायु वैज्ञानिकले बीबीसीलाई बताएका छन्। दैनिक हजारौँ मानिसहरूलाई बाढीको पानीबाट उद्धार गर्नुपरेको छ। र देशको आधा अन्न बाढीले बगाएपछि मन्त्रीले खाद्य सङ्कटको चेतावनी दिएको अवस्थामा यसको मानवीय मूल्य स्पष्ट छ।

पृथ्वीलाई तताउने हरित गृह ग्यासमध्ये एक प्रतिशत मात्रै पाकिस्तानले उत्सर्जन गर्छ तर यसको भूगोलका कारण यो जलवायु परिवर्तनको ठूलो जोखिममा छ।”अहिले पाकिस्तानको एकतिहाइ भाग पानीमा डुबेको छ जुन यसअघि हामीले देखेको सीमा वा प्रवृत्तिभन्दा फरक हो,” जलवायु मन्त्री शेरी रहमानले यो साता भनिन्। पाकिस्तान पृथ्वीको यस्तो स्थानमा छ जहाँ दुईथरी मौसम प्रणालीको असर पर्छ। एउटा प्रणालीले मार्च महिनातिर उच्च तापक्रम र खडेरी ल्याउन सक्छ भने अर्कोले मनसुन वर्षा ल्याउँछ।पाकिस्तानको ठूलो जनसङ्ख्या सिन्धु नदीको वरपर बस्छन्। यो नदीमा मनसुन वर्षाले ठूलो बाढी ल्याउन सक्छ।

ओत लाग्न बस्दा पहिरोले पुरेर आमा छोरी दुई जनाको मृत्यु

दिउँसो अविरल वर्षाको क्रममा पिपलचौरस्थित छेपारे सामुदायिक वनको भवनमाथि पहिरो खस्दा भवनभित्र ओत लाग्न बसेका आमा–छोरीलाई सो पहिरोले किचेर मृत्युु भएको हो ।

रुकुम पश्चिममा एक सामुदायिक भवन भत्किदा आमाछोरीको मृत्यु भएको छ । रुकुम आठबिसकोट नगरपालिका १४ को पिपलचौरमा पहिरोले सामुदायिक भवन भत्काउँदा जाजरकोटको नौगाड नगरपालिका १ की ३२ वर्षीया बालमती राना र उनकी छोरी २ वर्षीया प्रतिक्षा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरिक्षक राजिव श्रेष्ठले जानकारी दिए ।

सँगै रहेकी बालमतीकी अर्की छोरी ७ वर्षीया तिर्सना राना घाइते भएकी छिन् । भवन भत्किँदा घाइते भएका तीनै जनालाई प्रहरीले उद्धार गरी जाजरकोटस्थित जिल्ला अस्पतालमा लगेको थियो । त्यस क्रममा जाजरकोट जिल्ला अस्पतालका चिकित्सकले घाइतेमध्ये बालमती र उनकी छोरी प्रतिक्षाको मृत्यु भएको घोषणा गरेका थिए ।

भक्तपुरमा रूख ढल्दा किचिए बस र स्कुटरमा १५ जना घाइते

भक्तपुरमा आइतबार दिउँसो एउटा रूख ढल्दा बस र स्कुटर किचिएका छन्। काठमाडौंबाट भक्तपुरको दूधपाटी जाँदै गरेको बा २ ख ३५८४ नम्बरको यात्रुबहाक बस र स्कुटरलाई रुख ढलेर किच्दा यात्रारत कम्तिमा १३ जना घाइते भएका छन् । १३ मध्ये २ जनाको व्यवस्था गम्भीर छ । भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार घाइतेहरुलाई भक्तपुर अस्पताल, डा इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारका लागि लगिएको छ । रूख ढलेर बस र स्कुटर किच्दा १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।  घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। रूख कसरी ढल्यो भन्ने विस्तृत विवरण आउन बाँकी छ।