पहिरोमा परेर अछाममा कैयौँको मृत्यु

अछाम जिल्लाका विभिन्न भागमा गएको पहिरोमा परेर हालसम्म १७ जनाको ज्यान गएको र ६ जना बेपत्ता भएको विवरण आएको छ। सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा कम्तीमा १७ जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। अविरल वर्षाका कारण आएको पहिरोले घर पुर्दा अधिकांशको ज्यान गएको छ। रिजालका अनुसार जिल्लाका तीनवटा स्थानीय तहका चार स्थानमा पहिरोका घटना भएको जानकारी आएको छ। तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा हालसम्म चार जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको रिजालले बताए। पहिरोले घर पुरिँदा कमलबजार नगरपालिकाको वडा नम्बर- ६ मा सात जना र वडा नम्बर-८ मा ५ जनाको निधन भएको छ। त्यस्तै पहिरोकै कारण ढकारी गाउँपालिकामा एउटा घर पुरिँदा एकजनाको निधन भएको छ। जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन र सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको बताइएको छ।

Spread the love