ओत लाग्न बस्दा पहिरोले पुरेर आमा छोरी दुई जनाको मृत्यु

दिउँसो अविरल वर्षाको क्रममा पिपलचौरस्थित छेपारे सामुदायिक वनको भवनमाथि पहिरो खस्दा भवनभित्र ओत लाग्न बसेका आमा–छोरीलाई सो पहिरोले किचेर मृत्युु भएको हो ।

रुकुम पश्चिममा एक सामुदायिक भवन भत्किदा आमाछोरीको मृत्यु भएको छ । रुकुम आठबिसकोट नगरपालिका १४ को पिपलचौरमा पहिरोले सामुदायिक भवन भत्काउँदा जाजरकोटको नौगाड नगरपालिका १ की ३२ वर्षीया बालमती राना र उनकी छोरी २ वर्षीया प्रतिक्षा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरिक्षक राजिव श्रेष्ठले जानकारी दिए ।

सँगै रहेकी बालमतीकी अर्की छोरी ७ वर्षीया तिर्सना राना घाइते भएकी छिन् । भवन भत्किँदा घाइते भएका तीनै जनालाई प्रहरीले उद्धार गरी जाजरकोटस्थित जिल्ला अस्पतालमा लगेको थियो । त्यस क्रममा जाजरकोट जिल्ला अस्पतालका चिकित्सकले घाइतेमध्ये बालमती र उनकी छोरी प्रतिक्षाको मृत्यु भएको घोषणा गरेका थिए ।

Spread the love