डोटीको भूकम्प प्रभावित क्षेत्र

२३ कात्तिक, काठमाडौं : डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।  स्थानीयका अनुसार पुराना कच्ची घरहरु भत्किएका छन् । राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएका थिए । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको  भैरवप्रसाद गण डोटी लगायतको टोली खटिएको छ ।  भूकम्पबाट जोगिएकाहरुले चिसो रात खुला आकाशमुनि बिताएका छन् । राति ९ बजेर ७ मिनेटमा पनि दिपायल केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि पटक–पटक झट्का महसुस भएको थियो । भूकम्पको झट्का बझाङ, कैलाली, कञ्चनपुर, बाँके, रुकुम पश्चिममा समेत महसुस भएको थियो ।

Spread the love