आज हरिबोधिनी एकादशी पर्व मनाइँदै

काठमाडौं : हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछन् ।हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना  बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् ।हरिशयनी एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा रहेको छ ।आज हरिशयनी एकादशीका दिनमा सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ ।आजका दिन काठमाडौंको बुढानीलकण्ठका साथै उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशंखुनारायण लगायत देशभरका विष्णु मन्दिरहरुमा विशेष मेला लागेको छ ।

Spread the love