खेर जाने बिजुली खरिद गर्न भारत तयार

सरकारको  कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार आगामी मनसुनको समयमा झण्डै ३६० मेगावाट बिजुली भारतीय बजारमा प्रवेश गर्ने मार्गप्रशस्त भएको छ । यसबाट वर्षाको समयमा खेर जाने बिजुलीले भारतीय बजारमा प्रवेश पाउनेछ भने त्यसबाट नेपाली लगानीकर्तालाई समेत बजारको खोजी र विस्तारमा थप सहयोग प्रदान गर्नेछ ।

सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई बिजुलीको व्यापारका लागि अनुमति दिइसकेको छ । निजी क्षेत्रले पनि क्षेत्रीय बजारमा बिजुली पुर्याउनका लागि अनुमति माग गरिरहेको अवस्था छ । प्राधिकरणको विवरणअनुसार गत मनसुनमा मात्रै झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो । त्यसको बजार मूल्य झण्डै रु पाँच अर्ब बराबर थियो । पछिल्लो भ्रमणका क्रममा भारतीय पक्षले नेपालमा जगेडा हुने बिजुलीको उपयोग एवं खरिदका लागि आफूहरू तयार रहेको बताएको छ ।आन्तरिकरूपमा खपत पनि बढाउने र निर्यात गर्दा पनि क्रमशः विस्तारित हुँदै जाने सोचअनुसार ३६० मेगावाटसम्म निर्यातका लागि मार्गप्रशस्त हुनु आफैँमा उपलब्धिका रूपमा रहेको ऊर्जा मन्त्रालयको भनाइ छ ।

मनसुनको समयमा नेपालका बढी मात्रामा बिजुली उत्पादन हुने र भारतमा अत्यधिक माग हुने भएकाले पनि अवस्था सहज रहेको थियो । विगतको प्रतिबद्धताभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्गप्रशस्त गरेको छ ।

राजनीतिक तहमा व्यक्त भएको यो प्रतिबद्धतालाई व्यवहारिक रूप दिन विशेषगरी कर्मचारी प्रशासन तहमा र सरोकार भएका निकायको बीचमा अब साझा प्रयास जरुरी देखिएको छ । विगतमा पनि प्रतिबद्धता जनाउने र कार्यान्वयन नगर्ने प्रवृत्तिका बीचमा यतिबेला फलाम तातेको बेला हानी हाल्नुपर्ने र आकार दिइहाल्नुपर्ने अवस्था छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा ‘भारत–नेपाल  संयुक्त भिजन’ जारी गर्दै ऊर्जा क्षेत्रमा एकापसमा सहयोग अभिवृद्धि गर्न दुवै देश सहमत हुनु आफैँमा महत्वपूर्ण विषय हो । यसबाट नेपालको क्षेत्रीय बजारमा प्रवेश गर्ने लामो समयदेखिको चाहनाले अब मूर्तरूप पाउने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त भिजनलाई ऊर्जा क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो उपलब्धिका रूपमा अथ्र्याउनु र त्यसमा सहमति जनाउनुले बढी भएको बिजुली सहजैरूपमा भारत र बङ्गलादेशमा निर्यात गर्ने मार्गप्रशस्त भएको ऊर्जा उद्यमीहरूको भनाइ छ ।

Spread the love