खेर जाने बिजुली खरिद गर्न भारत तयार

खेर जाने बिजुली खरिद गर्न भारत तयार

सरकारको  कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार आगामी मनसुनको समयमा झण्डै ३६० मेगावाट बिजुली भारतीय बजारमा प्रवेश गर्ने मार्गप्रशस्त भएको छ । यसबाट वर्षाको समयमा खेर जाने बिजुलीले भारतीय बजारमा प्रवेश पाउनेछ भने त्यसबाट नेपाली लगानीकर्तालाई समेत बजारको खोजी र विस्तारमा थप सहयोग प्रदान गर्नेछ ।

सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई बिजुलीको व्यापारका लागि अनुमति दिइसकेको छ । निजी क्षेत्रले पनि क्षेत्रीय बजारमा बिजुली पुर्याउनका लागि अनुमति माग गरिरहेको अवस्था छ । प्राधिकरणको विवरणअनुसार गत मनसुनमा मात्रै झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो । त्यसको बजार मूल्य झण्डै रु पाँच अर्ब बराबर थियो । पछिल्लो भ्रमणका क्रममा भारतीय पक्षले नेपालमा जगेडा हुने बिजुलीको उपयोग एवं खरिदका लागि आफूहरू तयार रहेको बताएको छ ।आन्तरिकरूपमा खपत पनि बढाउने र निर्यात गर्दा पनि क्रमशः विस्तारित हुँदै जाने सोचअनुसार ३६० मेगावाटसम्म निर्यातका लागि मार्गप्रशस्त हुनु आफैँमा उपलब्धिका रूपमा रहेको ऊर्जा मन्त्रालयको भनाइ छ ।

मनसुनको समयमा नेपालका बढी मात्रामा बिजुली उत्पादन हुने र भारतमा अत्यधिक माग हुने भएकाले पनि अवस्था सहज रहेको थियो । विगतको प्रतिबद्धताभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्गप्रशस्त गरेको छ ।

राजनीतिक तहमा व्यक्त भएको यो प्रतिबद्धतालाई व्यवहारिक रूप दिन विशेषगरी कर्मचारी प्रशासन तहमा र सरोकार भएका निकायको बीचमा अब साझा प्रयास जरुरी देखिएको छ । विगतमा पनि प्रतिबद्धता जनाउने र कार्यान्वयन नगर्ने प्रवृत्तिका बीचमा यतिबेला फलाम तातेको बेला हानी हाल्नुपर्ने र आकार दिइहाल्नुपर्ने अवस्था छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा ‘भारत–नेपाल  संयुक्त भिजन’ जारी गर्दै ऊर्जा क्षेत्रमा एकापसमा सहयोग अभिवृद्धि गर्न दुवै देश सहमत हुनु आफैँमा महत्वपूर्ण विषय हो । यसबाट नेपालको क्षेत्रीय बजारमा प्रवेश गर्ने लामो समयदेखिको चाहनाले अब मूर्तरूप पाउने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त भिजनलाई ऊर्जा क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो उपलब्धिका रूपमा अथ्र्याउनु र त्यसमा सहमति जनाउनुले बढी भएको बिजुली सहजैरूपमा भारत र बङ्गलादेशमा निर्यात गर्ने मार्गप्रशस्त भएको ऊर्जा उद्यमीहरूको भनाइ छ ।

रसुवागढीको अाइपीअाे धितोपत्र बोर्डबाट स्वीकृत

चिलिमेका सहायक कम्पनी रसुवागढी हाईड्रोपावर कम्पनी (RHCL) ले विहीबार धितोपत्र बोर्डबाट एक करोड ६४ लाख २१ हजार ४० कित्ता प्राथामिक सेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरेर वाार्षिक रुपमा ६४ करोड ४० लाख युनिट विद्युत्त उत्पादन भई आयोजनाबाट वार्षिक साढे तीन अर्ब आय हुने अनुमान गरिएको रसुवागढीको एक करोड ६४ लाख कित्ता अाइपीअाे धितोपत्र बोर्डबाट स्वीकृत छ । कम्पनीले अधिकृत पूँजीको ७५ प्रतिशत रकम बराबरको पाँच करोड १३ लाख १५ हजार ७५० कित्ता सेयर धितोपत्र बोर्डबाट विहीबार स्वीकृत भएको छ । जसमध्ये ५१ प्रतिशत बराबरको तीन करोड ४८ लाख ९४ हजार ७१० कित्ता सेयर संस्थापक रहेको छ ।  कम्पनीको अधिकृत पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ । पहिलो चरणको संस्थापक र कर्मचारीको प्राथमिक सेयर निष्काशन र बाँडफाँड पश्चात दोस्रो चरणमा मात्र सर्वसाधारमा सेयर जारी हुनेछ । सो समयमा कम्पनीले अधिकृत पूँजीको २५ प्रतिशत बराबरको एक करोड ७१ लाख पाँच हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि धितोपत्र बोर्डबाट स्वीकृति पश्चात फेरी जारी गर्नेछ ।  उत्तरी रसुवामा निर्माणाधीन आयोजनाको निर्माण ५० प्रतिशतभन्दा बढी सम्पन्न भैसकेको छ ।

रसुवागढी हाईड्रोले भने आईपीओ निष्काशनको जिम्मेवारी सिद्धार्थ क्यापिटल, एनआईबिएल क्यापिटल, ग्लोबलआईएमई क्यापिटल र एनसीएम मर्चेन्ट गरी चारवटालाई संयुक्त रुपमा दिईएको छ ।  रसुवागढी जलविद्युत्त आयोजनाले रसुवा जिल्लामा १११ मेगावाटको आयोजना निर्माण गरिरहेका छ । चिलिमे हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणको मुख्य लगानी रहेको आयोजना सन् २०१९ मा सम्पन्न गर्ने लक्ष्य छ ।