जसपाको दुई धारमा नेपाली कांग्रेसको ध्यान एमालेको अन्तरविरोधतिर

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई वा दुईभन्दा बढी दलहरू मिलेर संविधानको धारा ७६ (२) अन्तर्गत बहुमतको सरकार बनाउन आह्वान गरेको समयसीमा सकिनु एकदिन अगाडि उक्त पहलको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको ध्यान सत्ताधारी एमालेको आन्तरिक विभाजनतर्फ मोडेको देखिएको छ। एमालेभित्रका असन्तुष्ट पक्षका केही सांसदहरूले राजीनामा दिएमा भने कुल कायम संसद सङ्ख्या घट्नेछ र त्योसँगै आवश्यक बहुमतको न्यूनतम सङ्ख्या पनि घट्नेछ। प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने क्रममा भएको मतदानमा ओलीको पक्षमा ९३ मत मात्रै आएको थियो भने उनको विपक्षमा १२४ मत आएको थियो।

शीतलनिवासबाट आह्वान भएको भोलिपल्टै कांग्रेसले मङ्गलवार माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीका नेताहरूसँग  छलफल गरेको थियो।  जसपाका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार निर्माणमा अरुचि प्रकट गर्दै विज्ञप्ति प्रकाशित गरेका कारण अब कांग्रेसको ध्यान एमालेभित्रकै असन्तुष्ट खेमातिर मोडिएको कांग्रेस सभापति शेरबहादुर देउवाका निकट नेता एनपी साउदले बताए।

Spread the love