बालकुमारी घटनाका मृतकका परिवारलाई सरकारले क्षतिपूर्ति दिने

बालकुमारी घटनाका मृतकका परिवारलाई सरकारले क्षतिपूर्ति दिने

नेपाल सरकारले शुक्रवार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। पत्रकार सम्मेलनमा बोल्दै सरकारी प्रवक्ता मन्त्री शर्माले ‘केही चुक’ भएकैले शुक्रवार नै छानबिन समिति गठन गरिएकोछ। “उक्त घटनाको निष्पक्ष छानबिन गर्ने र भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्बन्ध संयन्त्रहरूलाई थप सतर्क संयमित र प्रभावकारी बनाउने पनि भएको छ।

कोरियाली भाषाको परीक्षामा सहभागी गराइनुपर्ने माग राखेर प्रदर्शन गरिरहेका युवाहरूमाथि प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो। बेरोजगार युवाहरू मारिएको भन्दै शनिवार पनि राजधानीका काठमाण्डू, ललितपुर सहित सुर्खेत लगायतका ठाउँमा प्रदर्शनहरू भएका छन्। सरकारले घटनाको छानबिनका लागि बनाइएको समितिको प्रतिवेदन नआउँदासम्म घटनासँग निलम्बन गरिएको जनाएको छ।

‘विदेशी षड्यन्त्रको चर्चा’ गदै – प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखिने गरेका असन्तुष्टिमा अन्तर्राष्ट्रिय चलखेल समेत रहेको भन्दै चिन्ता व्यक्त गरेको एक नेताले  बताएका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले समाजवादी मोर्चाको बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रचण्डले त्यस्तो बताएको जानकारी दिए। प्रधानमन्त्रीले बेलाबखत “परिवर्तन उल्ट्याउने प्रयास” भइरहेको बताउने गरेका थिए। देशका विभिन्न भागमा धार्मिक र जातीय प्रदर्शन हुने गरेका बेला उनले विदेशी भूमिकालाई पनि जोडेर दिएको अभिव्यक्तिलाई अर्थपूर्ण ठानिएको छ।

केही दिनअघि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शङ्कर भण्डारीले “चैतसम्म संविधान खारेज हुन सक्ने” सूचना आफूले पाएको बताएका थिए। त्यस्तै हिन्दू राष्ट्र र त्यससँगै राजसंस्था पुनर्स्थापना समेतको मुद्दा उठाउँदै आन्दोलन पनि घोषणा गरिएको छ। समाजवादी मोर्चाको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बोलेपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो धारणा राखेका थिए। त्यसपछि नेकपाका महासचिव विप्लव र नेता विश्वकर्माले बोलेका थिए। नेता विश्वकर्माका अनुसार मोर्चा, सरकार र विगतका उपलब्धिविरुद्ध षड्यन्त्र भइरहेकोबारे साझा धारणा थियो। “त्यो षड्यन्त्र प्रतिगामी, दलाल प्रतिक्रियावादी र अर्को अलिकति विदेशी स्वार्थको छ भन्ने हाम्रो साझा ठहर छ,” बैठकमा नेताहरूको धारणाबारे उनले सुनाए। उनका अनुसार प्रधानमन्त्रीले “परिवर्तन उल्ट्याउने र प्रतिगामी दिशातर्फ धकेल्ने षड्यन्त्र” भइरहेको सुनाएका छन्। “कतिपय ठाउँमा जातीय नाममा, कतिपय ठाउँमा धार्मिक नाममा, कतिपय जनयुद्धका मुद्दा उठाएर अनि कतिपय हाम्रो तीनबुँदे सहमतिविरुद्ध अदालतबाट घटना गराएर व्यक्त भएका छन् भन्ने त प्रधानमन्त्रीले पनि भन्नुभयो ।

जातीय पहिचान र हकअधिकारको कुरा पनि उठ्ने गरेको छ। कोशी प्रदेशको नाम जातीय पहिचानको आधारमा राखिनुपर्ने माग गर्दै आन्दोलन चलिरहेको छ। त्यसतर्फ सङ्केत गर्दै नेता विश्वकर्माले उत्पीडित समुदाय र वर्गमा अधिकार र उन्मुक्ति अनि त्यससँग सम्बन्धित मनोविज्ञान पनि रहेको बताउँदै त्यसको सम्बोधन गरिनुपर्नेमा साझा मत रहेको जानकारी दिए। कतिपयले हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा भइरहेका प्रदर्शनहरूमा दक्षिणी छिमेकी भारतका कतिपय शक्ति र संस्थाहरूको साथ, समर्थन र सहयोग रहेको आशङ्का गर्ने गरेको पाइन्छ।

युक्रेनले हवाई आक्रमण गर्दा रुसी युद्धपोतमा क्षति

रुसले आफ्नो एउटा युद्धपोत युक्रेनी आक्रमणमा परेर ब्ल्याक सीस्थित एउटा बन्दरगाहमा क्षतिग्रस्त भएको पुष्टि गरेको छ। युक्रेनले मङ्गलवार बिहानीपख रुसको अधीनमा रहेको क्राइमियाको फिओदोसियामा हवाई आक्रमण गरेको थियो।  क्राइमिया अन्तर्राष्ट्रिय रूपमा युक्रेनी भूभागको मान्यता पाएको क्षेत्र हो। तर सन् २०१४ मा रुसले कब्जा गरेयता त्यो मस्कोको नियन्त्रणमा छ।  रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनी विमानबाट नोभचेर्कास्क युद्धपोतलाई लक्षित गरी क्रूज क्षेप्यास्त्र प्रहार गरिएको थियो। त्यसअघि युक्रेनी वायुसेनाका प्रमुखले आफ्ना लडाकु विमानहरूले उक्त पानीजहाजलाई ध्वस्त पारेको दाबी गरेका थिए। टेलिग्राममा लेख्दै मिकोला ओलेसुकले रुसी युद्धपोतको सङ्ख्या घट्दै गइरहेको दाबी गरेका छन्। रुसले क्राइमियामा प्रमुख नियुक्त गरेका सर्गेइ अक्स्योनोभले उक्त हमलाका क्रममा एक व्यक्तिको मृत्यु भएको जनाएका छन्। अन्य दुई जना घाइते भएको बताइएको छ। उनले छवटा भवनहरू नष्ट भएको र त्यसपछि केही मानिसहरूलाई अस्थायी आवास केन्द्रहरूमा राखिएको जनाए।

अहिले उक्त बन्दरगाहमा सामान्य रूपमा यातायात सञ्चालन भइरहेको जनाइएको छ। हमलाबाट लागेको आगो नियन्त्रणमा लिने क्रममा त्यस क्षेत्रलाई घेराबन्दी गरिएको थियो। बन्दरगाह क्षेत्रमा ठूलो विस्फोट भएको भनिएको भिडिओ सामाजिक सञ्जालमा देखा परेको छ। युक्रेनी वायुसेनाका प्रमुखले त्यो भिडिओ शेअर गरेका छन्। उक्त आक्रमणका तस्बिरहरूको आधिकारिकता स्वतन्त्र रूपबाट पुष्टि हुन सकेको छैन। तर डिसेम्बर २४ मा भूउपग्रहबाट खिचिएको तस्बिरमा उक्त बन्दरगाहमा नोभचेर्कास्ककै लम्बाइको पानीजहाज भएको देखिन्छ। युक्रेनी सेनाले नोभचेर्कास्कलाई तारो बनाएको यो पहिलो पटक भने होइन। सन् २०२२ को मार्च महिनामा युक्रेनको रक्षा मन्त्रालयले अधीनस्थ युक्रेनी बन्दरगाह बेअर्ड्यान्स्कमा गरिएको एउटा हमलामा त्यसलाई क्षति पुर्‍याइएको जनाएको थियो।  त्यस क्रममा अर्को युद्धपोत सरातोभ समुद्रमा डुबेको थियो। पुटिनले आफ्नो सेना मारियिन्कामा “सफल” भएको भन्दै युक्रेनी फौजलाई डोनेट्स्कबाट अझ पर धकेलिएको बताएका छन्।  युक्रेनी पक्षले मारियिन्काबाट डोनेट्स्कमा नियमित रूपमा आक्रमण गर्दै आएको थियो। पुटिनले अब रुसी फौजसामु डोनेट्स्क क्षेत्रमा “व्यापक कारबाहीको क्षेत्रमा अघि बढ्ने अवसर आएको” बताएका छन्।

महिनौँदेखि चलिरहेको लडाइँका कारण मारियिन्कामा घरहरूको भग्नावशेष मात्र देख्न सकिन्छ (मे २०२३ को फाइल तस्बिर)

महिनौँदेखि चलिरहेको लडाइँका कारण मारियिन्कामा घरहरूको भग्नावशेष तस्बिर स्रोत,TELEGRAM VIA REUTERS   

रुसले सन् २०२२ को फेब्रुअरी महिनामा युक्रेनमा सैन्य आक्रमण गरेको थियो। केही सातायता रुसी सैनिकहरूले १,२०० किलोमिटर लामो रणभूमिमा पर्ने केही महत्त्वपूर्ण क्षेत्रहरूमा आक्रमण बढाएको छ। रुसले युद्धमा मर्ने सैनिकको सङ्ख्या लुकाउँछ, तर बीबीसीको गणनाले यस्तो देखायो  युक्रेनबाट रुसमा घुसपैठ गर्ने यी लडाकु को हुन्   रुसले मारियिन्काबाहेक डोनेट्स्कनजिकै रहेको आभ्दियिन्का सहरलाई पनि घेराबन्दी गरेको छ। हिउँद सुरु भएपछि किएभको प्रत्याक्रमण रोकिएको थियो। यस्तो अवस्थामा रुसले युक्रेनलाई उछिन्न सक्ने आशङ्का बढेको छ। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनामा थप पाँच लाख मानिस भर्ती गर्ने योजना रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा फेक न्यूजको प्रभाव

  • Deepa Adhikari

आजको अन्तरसम्बन्धित संसारमा सूचनाहरू स्वतन्त्र र द्रुत रूपमा सीमानाहरू पार हुन्छन् । विश्वभर समाचार पुर्याउन अहिलेको डिजिटल युगमा सहज भएको छ ।यहि सहजताका कारण मानिसहरुबीचको भौतिक दुरी कम भएको छ। र विश्वमा घट्ने विभिन्न घटनाका बारेमा तत्काल नै अवगत हुने अवसर पनि पाईएको छ। तर धैरै सकारात्मक पक्ष हुँदा हुँदै पछिल्लो समय फेक न्यूज (गलत समाचारहरू) फैलिदा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा केहि चुनौति समेत सिर्जना भएको पाईन्छ।

फेक न्यूजकोहरू, प्रायः सामाजिक मिडिया प्लेटफर्महरू र अन्य डिजिटल च्यानलहरू मार्फत फैलिन्छन । युट्युब नेपालमा सबैभन्दा बढि गलत सूचना फैलाउने प्लेटफर्मको रूपमा देखा परेको छ। त्यसमाथि आज थोरै ज्ञान भएका धेरै मानिसहरू इन्टरनेटको पहुँचमा छन्। तसर्थ ती व्यक्तिहरूले सहि गलत छुट्याउन नसक्दा  भ्रामक सामाचारको फन्दामा परिरहेको समेत भेटिन्छ।मानिसहरूलाई इन्टरनेटमा देखेका सबै कुरा सत्य नहुन सक्छ भन्ने ज्ञान दिलाउन आवश्यक छ।

गलत समाचारहरूले महामारी वा प्राकृतिक प्रकोपहरू जस्ता विश्वव्यापी संकटहरूमा पनि महत्त्वपूर्ण चुनौतीहरू सिर्जना गरेको पाईन्छ। सार्वजनिक स्वास्थ्य र अनेक आपतकालिन समयमा गलत सूचना फैलिदा घातक परिणाम भोग्नु परेको घटनाहरु पनि हामी सामु धेरै छन्। जस्तै COVID-19 महामारीको समयमा उपचारको प्रभावकारिता, भाइरसको उत्पत्ति, वा संकटको गम्भीरताको बारेमा गलत दाबीहरूले जनस्वास्थ्य प्रयासहरूलाई कमजोर पुर्याएको थियो । गलत सूचनाले डर र भ्रम बढाउन सक्छ, र समन्वयित अन्तर्राष्ट्रिय प्रतिक्रियाहरूलाई बाधा पुर्‍याउन सक्छ।

यसबाहेक, वातावरणीय प्रकोपसँग सम्बन्धित गलत समाचारहरू, जस्तै जलवायु परिवर्तनलाई अस्वीकार गर्ने वा प्राकृतिक प्रकोपका कारणहरूको बारेमा गलत जानकारीले तत्काल वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्ने विश्वव्यापी प्रयासहरूलाई बाधा पुर्‍याउन सक्छ।अन्य विभिन्न क्षेत्रमा पनि गलत समाचार फैलिदा चुनौती नै सर्जना भएका छन् ।

अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा गलत समाचारको प्रभावले देश र संस्कृतिहरूको फराकिलो धारणामा समेत नकारात्मक असर गर्न सक्दछ । झुटा समाचारहरू मार्फत निरन्तरता दिने स्टेरियोटाइपहरू र गलत सूचनाहरूले पूर्वाग्रहहरूलाई सुदृढ पार्न र राष्ट्रहरू बीचको विभाजनलाई गहिरो बनाउन सक्छ। यसले कूटनीतिक सम्बन्धमा बाधा पुर्‍याउने मात्र होइन, अन्तर-सांस्कृतिक समझदारी र सहयोगमा पनि बाधा पुर्‍याउँदछ। बढ्दो अन्तरसम्बन्धित संसारमा, जहाँ अन्तरसांस्कृतिक संवाद र सहकार्य विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक छ। गलत समाचार फैलिदा यस किसिमको प्रगतिको लागि अवरोध खडा हुने गर्दछ।

गलत समाचारको प्रकोपलाई सम्बोधन गर्न सरकार, प्रविधि कम्पनीहरू, संचारमाध्यम र नागरिक समाजलाई समावेश गर्ने बहुआयामिक दृष्टिकोण चाहिन्छ। सरकारले अनलाइन गलत सूचनालाई नियमन गर्न, मिडिया साक्षरता शिक्षाको प्रवर्द्धन गर्न, र सूचना प्रसारमा पारदर्शिता बढाउन कानून बनाएर गलत समाचारहरू विरुद्ध लड्न महत्त्वपूर्ण भूमिका रहन्छ। टेक्नोलोजी कम्पनीहरूले पनि बलियो तथ्य-जाँच संयन्त्रहरू लागू गरेर, एल्गोरिदमिक पारदर्शिता प्रवर्द्धन गरेर, र तिनीहरूको प्लेटफर्महरूमा गलत जानकारीको प्रवर्द्धनलाई कम गरेर गलत समाचारहरु फैलिन रोक्नको लागि जिम्मेवारी लिनुपर्छ।

यसबाहेक, पत्रकारिताको मापदण्डलाई कायम राख्ने, स्रोतहरू प्रमाणीकरण गर्ने र सही रिपोर्टिङ गर्न आवश्यक छ। तथ्य-जाँचको माध्यमबाट गलत सूचनाहरू विरुद्ध लड्ने जिम्मेवारी संचार माध्यमको हो। मिडिया आउटलेटहरू, तथ्य-जाँच र नियमन गर्ने संस्थाहरू, र शैक्षिक संस्थाहरू बीचको सहयोगी प्रयासहरूले झूटा समाचारहरु हटाउन र विश्वसनीय जानकारी प्रवर्द्धन गर्न मद्दत गर्न सक्छ।

निष्कर्षमा, गलत समाचारको प्रसारले अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा गम्भीर खतरा निम्त्याउँछ, द्वन्द्व बढाउँछ, राष्ट्रहरू बीचको विश्वासलाई कमजोर बनाउँछ, र विश्वव्यापी सहयोगमा बाधा पुर्‍याउँछ। यस चुनौतीलाई सम्बोधन गर्न सरकार, प्रविधि कम्पनीहरू, मिडिया संगठनहरू, र नागरिक समाजबाट मिडिया साक्षरता प्रवर्द्धन गर्न, गलत सूचनाहरू विरुद्ध लड्न, र थप सूचित र लचिलो विश्वव्यापी समुदायलाई बढावा दिनको लागि ठोस प्रयासहरू आवश्यक छ। अन्तरसम्बन्ध र अन्तरनिर्भरता द्वारा परिभाषित युगमा, सूचनाको अखण्डताको रक्षा गर्नु आपसी समझदारीलाई बढावा दिन आवश्यक छ।तसर्थ गलत सूचनाहरु प्रवाह हुनबाट बचाउन जरुरी छ।

 

जनकपुरधाममा ८५ क्वीन्टल अन्नबाट ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा बनाइयो

जनकपुरधाममा ८५ क्वीन्टल अन्नबाट  ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा बनाएको छ। सीता–राम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व कीर्तिमानका लागि अन्नबाट रंगभूमि मैदान बाह्रविघामा प्रतिमा निर्माण गरिएको हो ।

विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिवारबाट सर्वसाधारणको अवलोकनको लागि समेत खुल्ला गरिएको छ। प्रतिमामा ११ प्रकारका १ सय १ क्विन्टल अन्नको प्रयोग गरिएको छ। जनकपुरधाममा  सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनकता बढाएको छ। यो प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाएका भारतको मध्यप्रदेशका सतिश गुर्जरले गरेका हुन्। कोरोना महामारीताकादेखि अन्नको प्रतिमा निर्माण गर्न सुरु गरेका गुर्जरले  संस्कृतिलाई प्रचारप्रसार गर्ने उद्देश्यले बिना पारिश्रमिक यो प्रतिमाको निर्माण गरेका हुन्। प्रतिमा निर्माणमा प्रयोग गरिएको अन्न खेर नजाने प्रतिमा निर्माण समितिले जनाएको छ।

 

 

काठमाण्डू-रक्सौल विद्युतीय रेलमार्ग

नेपालको राजधानी काठमाण्डूलाई रेलमार्गबाट भारतसँग जोड्ने बहुचर्चित काठमाण्डू-रक्सौल विद्युतीय रेल परियोजनाको एउटा अध्ययन प्रतिवेदनका सम्बन्धमा विस्तृत ‘छलफल र विमर्श जारी रहेको’ अधिकारीहरूले बताएका छन्। काठमाण्डू-रक्सौल रेलमार्गबारे भारतीय परामर्शदाताले केही महिनाअघि परियोजनाको ‘फाइनल लोकेसन सर्भे’को प्रतिवेदन बुझाएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका  प्रतिवेदनमा कतिपय विषयहरू ‘अस्पष्ट रहेकाले’ थप बुझ्न परामर्शदाता संस्थाका प्रतिनिधिलाई काठमाण्डू बोलाएर छलफल गर्नुपर्ने देखिएको छ। भारत सरकारकै खर्चमा परामर्शदाताले अध्ययन गरेर बुझाएको प्रतिवेदनबारे आफ्ना टिप्पणी र सुझाव दिन नेपाललाई भारतले आग्रह गरेको थियो।

सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाण्डू-रक्सौल रेलमार्गको अध्ययन अगाडि बढाउन एउटा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। त्यसैको आधारमा सन् २०१९ मा भारतीय प्राविधिकहरूले गरेको एउटा प्रारम्भिक अध्ययनले काठमाण्डू-रक्सौल रेलमार्ग निर्माणका लागि चार वटा वैकल्पिक रूट प्रस्ताव गरेको थियो। लागि प्रारम्भिक प्रतिवेदनमा दिइएका चार विकल्पमध्ये पहिलो रूटको लम्बाइ झन्डै १७१ किलोमिटर, दोस्रोको १९१ किलोमिटर, तेस्रोको १९८ किलोमिटर र चौथोको १३६ किलोमिटर हुने देखाइएको थियो। अहिले अध्ययन गरिएको रूट रक्सौलबाट जितपुर, निजगढ, शिखरपुर, सिस्नेरी र सतीखेल हुँदै काठमाण्डू आइपुग्नेछ। उक्त रूटको प्राविधिक, आर्थिक र सामाजिक अध्ययन समेत गरेर भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले प्रतिवेदन तयार पारेर बुझाएको हो।

जुनेली महिला बचत तथा ऋण सहकारीको १७ औ बार्षिक साधारण सम्पन्न

काठमाडौ ः  जुनेली महिला बचत तथा ऋण सहकारीको १७ औ बार्षिक साधारण सम्पन्न सम्पन्न भएको छ । टोखा नगरपालिका वडा नं २ स्थित सपनातिर्थ मन्दिर परिसरमा १७ औ बार्षिक साधारण गरिएको थियो । साधारण सभाको उद्घाटन गर्नुहुदै टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले पानसमा बत्ति बालेर सभा उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गदै वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले सहकारी सस्थालाइ यहाँसम्म पुर्याउन योगदान गर्ने सबै पदाधिकारी र हालै निर्बाचित पदाधिकारी सबैलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुदै प्रमाणपत्र बितरण गर्नु भएको थियो । भने महिला दिदी बहिनिहरुलाइ अगाडी बढाउने ढाका कपडा बुनाई, हाकु पतासी बुनाइ ,पटुका बुनाई,सलाई उघोगको रुपमा अगाडि बढाउन टोखा नगरपालिका वडा न २ सधै तयार भएको जानकारी र प्रतिबद्धता जनाउनु भयो  ।जुनेली महिला बचत तथा ऋण सहकारी सस्थामा सहभागी सदस्य महिला दिदी बहिनीहरुको बिशेष सहभागीतामा कार्यक्रम सम्पन्न भयो ।

नेपालभरि मौसम किन धुम्म

पछिल्ला केही दिनयता काठमाण्डू उपत्यकासहित देशका अधिकांश स्थानको मौसम धुम्म देखिएको छ। दिउँसोको समयमा घाम नलाग्दा सामान्यभन्दा चिसो महसुस गरिएको अनुभव मानिसहरूले सुनाइरहेका छन्। भारतको मध्य प्रदेश र राजस्थानमा विकास भएको न्यून चापीय क्षेत्र र पश्चिमी वायुको असरका कारण नेपालका अधिकांश ठाउँमा बदली भएर चिसो बढेको मौसमविद्हरू बताउँछन्। समुद्र सतहभन्दा तीन हजारदेखि चार हजार मिटरभन्दा माथिका उच्च पहाडी र हिमाली क्षेत्रमा भने सामान्य हिमपात हुने पूर्वानुमान गौचरस्थित मौसम पूर्वानुमान महाशाखाले गरेको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल यो बादलले वर्षा गराइहाल्ने सम्भावना भने नरहेको बताउँछन्। “देशैभरि आंशिकदेखि सामान्य बदलीको अवस्था रहे पनि हावामा आर्द्रताको मात्रा पर्याप्त नभएपछि दुई तीन दिनदेखि नै आकाशमा खाली बादल देखिने, अलिकति सूर्यको तेज बढ्यो भने दिउँसोतिर छरिएर घाम लागेजस्तो हुने र बेलुका भएपछि फेरी ढाक्ने अवस्था छ । केही दिनदेखि नेपाली आकाशमा डुलिरहेको बादल शुक्रवारबाट क्रमशः कम हुँदै गए पनि देशका अधिकांश स्थानको तापक्रम घट्दो क्रममा रहेको मौसमविद्हरू बताउँछन्।

पछिल्लो केही दिनयता काडमाण्डूको अधिकतम तापक्रम २२◦C को हाराहारी र न्यूनतम तापक्रम ९◦C सम्म झरेको छ। काठमाण्डूको न्यूनतम तापक्रम बुधवार १० ◦C र बिहीवार ९◦C थियो। बुधवार -४ ◦C सम्म पुगेको जोमसोमको न्यूनतम तापक्रम बिहीवार थप घटेर -५ ◦Cसम्म पुगेको थियो। धनगढी, भैरहवा, जनकपुर र विराटनगरको पनि न्यूनतम तापक्रम बुधवारभन्दा बिहीवार केही घटेको महाशाखाको तथ्याङ्कमा देखिन्छ।