‘विदेशी षड्यन्त्रको चर्चा’ गदै – प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखिने गरेका असन्तुष्टिमा अन्तर्राष्ट्रिय चलखेल समेत रहेको भन्दै चिन्ता व्यक्त गरेको एक नेताले  बताएका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले समाजवादी मोर्चाको बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रचण्डले त्यस्तो बताएको जानकारी दिए। प्रधानमन्त्रीले बेलाबखत “परिवर्तन उल्ट्याउने प्रयास” भइरहेको बताउने गरेका थिए। देशका विभिन्न भागमा धार्मिक र जातीय प्रदर्शन हुने गरेका बेला उनले विदेशी भूमिकालाई पनि जोडेर दिएको अभिव्यक्तिलाई अर्थपूर्ण ठानिएको छ।

केही दिनअघि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शङ्कर भण्डारीले “चैतसम्म संविधान खारेज हुन सक्ने” सूचना आफूले पाएको बताएका थिए। त्यस्तै हिन्दू राष्ट्र र त्यससँगै राजसंस्था पुनर्स्थापना समेतको मुद्दा उठाउँदै आन्दोलन पनि घोषणा गरिएको छ। समाजवादी मोर्चाको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बोलेपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो धारणा राखेका थिए। त्यसपछि नेकपाका महासचिव विप्लव र नेता विश्वकर्माले बोलेका थिए। नेता विश्वकर्माका अनुसार मोर्चा, सरकार र विगतका उपलब्धिविरुद्ध षड्यन्त्र भइरहेकोबारे साझा धारणा थियो। “त्यो षड्यन्त्र प्रतिगामी, दलाल प्रतिक्रियावादी र अर्को अलिकति विदेशी स्वार्थको छ भन्ने हाम्रो साझा ठहर छ,” बैठकमा नेताहरूको धारणाबारे उनले सुनाए। उनका अनुसार प्रधानमन्त्रीले “परिवर्तन उल्ट्याउने र प्रतिगामी दिशातर्फ धकेल्ने षड्यन्त्र” भइरहेको सुनाएका छन्। “कतिपय ठाउँमा जातीय नाममा, कतिपय ठाउँमा धार्मिक नाममा, कतिपय जनयुद्धका मुद्दा उठाएर अनि कतिपय हाम्रो तीनबुँदे सहमतिविरुद्ध अदालतबाट घटना गराएर व्यक्त भएका छन् भन्ने त प्रधानमन्त्रीले पनि भन्नुभयो ।

जातीय पहिचान र हकअधिकारको कुरा पनि उठ्ने गरेको छ। कोशी प्रदेशको नाम जातीय पहिचानको आधारमा राखिनुपर्ने माग गर्दै आन्दोलन चलिरहेको छ। त्यसतर्फ सङ्केत गर्दै नेता विश्वकर्माले उत्पीडित समुदाय र वर्गमा अधिकार र उन्मुक्ति अनि त्यससँग सम्बन्धित मनोविज्ञान पनि रहेको बताउँदै त्यसको सम्बोधन गरिनुपर्नेमा साझा मत रहेको जानकारी दिए। कतिपयले हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा भइरहेका प्रदर्शनहरूमा दक्षिणी छिमेकी भारतका कतिपय शक्ति र संस्थाहरूको साथ, समर्थन र सहयोग रहेको आशङ्का गर्ने गरेको पाइन्छ।

Spread the love