नेपालभरि मौसम किन धुम्म

पछिल्ला केही दिनयता काठमाण्डू उपत्यकासहित देशका अधिकांश स्थानको मौसम धुम्म देखिएको छ। दिउँसोको समयमा घाम नलाग्दा सामान्यभन्दा चिसो महसुस गरिएको अनुभव मानिसहरूले सुनाइरहेका छन्। भारतको मध्य प्रदेश र राजस्थानमा विकास भएको न्यून चापीय क्षेत्र र पश्चिमी वायुको असरका कारण नेपालका अधिकांश ठाउँमा बदली भएर चिसो बढेको मौसमविद्हरू बताउँछन्। समुद्र सतहभन्दा तीन हजारदेखि चार हजार मिटरभन्दा माथिका उच्च पहाडी र हिमाली क्षेत्रमा भने सामान्य हिमपात हुने पूर्वानुमान गौचरस्थित मौसम पूर्वानुमान महाशाखाले गरेको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल यो बादलले वर्षा गराइहाल्ने सम्भावना भने नरहेको बताउँछन्। “देशैभरि आंशिकदेखि सामान्य बदलीको अवस्था रहे पनि हावामा आर्द्रताको मात्रा पर्याप्त नभएपछि दुई तीन दिनदेखि नै आकाशमा खाली बादल देखिने, अलिकति सूर्यको तेज बढ्यो भने दिउँसोतिर छरिएर घाम लागेजस्तो हुने र बेलुका भएपछि फेरी ढाक्ने अवस्था छ । केही दिनदेखि नेपाली आकाशमा डुलिरहेको बादल शुक्रवारबाट क्रमशः कम हुँदै गए पनि देशका अधिकांश स्थानको तापक्रम घट्दो क्रममा रहेको मौसमविद्हरू बताउँछन्।

पछिल्लो केही दिनयता काडमाण्डूको अधिकतम तापक्रम २२◦C को हाराहारी र न्यूनतम तापक्रम ९◦C सम्म झरेको छ। काठमाण्डूको न्यूनतम तापक्रम बुधवार १० ◦C र बिहीवार ९◦C थियो। बुधवार -४ ◦C सम्म पुगेको जोमसोमको न्यूनतम तापक्रम बिहीवार थप घटेर -५ ◦Cसम्म पुगेको थियो। धनगढी, भैरहवा, जनकपुर र विराटनगरको पनि न्यूनतम तापक्रम बुधवारभन्दा बिहीवार केही घटेको महाशाखाको तथ्याङ्कमा देखिन्छ।

Spread the love