फर्कन नपाएका विदेशीलाई भिसा शुल्क छुट

Fewatal

काठमाडौँ  : वैशाख १५ सम्म भिसा नियमित गरे पनि उडान बन्द भएकाले रोकिएका विदेशीलाई विलम्ब शुल्कबापत प्रतिदिन ५ डलर र भिसा शुल्क ३ डलर र जरिवानामा समेत छुट दिने भएको छ ।  पर्यटक भिसामा आएर स्वदेश फिर्ता हुन नपाई रोकिएका विदेशी नागरिकलाई सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सहज नभएसम्म जरिवाना, विलम्ब र भिसा शुल्कबापतको रकम छुट दिने भएको  हो ।

२०७८ वैशाख २३ मा गृहमन्त्रीस्तरीय निर्णयका आधारमा अध्यागमन विभागले वैशाख १५ सम्म भिसा नियमित गरेका तर हवाई उडान बन्द भएका कारण स्वदेश फिर्ता हुन नपाएका विदेशी पर्यटकका लागि दैनिक तिर्नुपर्ने भिसा शुल्क ३ अमेरिकी डलर र विलम्ब शुल्क ५ डलर छुट दिने निर्णय भएको थियो ।

 हवाई यातायात खुलेर नेपालमै बस्न चाहने विदेशीको हकमा भने निषेधाज्ञा अवधिको सबै शुल्क र जरिवाना रकम पनि असुलिने अध्यागमन विभागले जनाएको छ । वैशाख २४ मा विभागले सूचना जारी गर्दै ‘वैशाख १५ सम्म वैध पर्यटक भिसा भएका विदेशीको हकमा निषेध आदेश अवधिलाई निज पर्यटक भिसामा नेपाल बस्न सक्ने गरी १ सय ५० दिनअन्तर्गत गणना गर्ने’ भनेको थियो । एक वर्षमा एक जना पर्यटकले बढीमा १ सय ५० दिनको भिसा पाउने व्यवस्था छ ।

Spread the love