भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी`

२१ साउन, चितवन ।  माओवादी–कांग्रेस गठवन्धनका उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मत अन्तरले भएका छन् ।  भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएका छन् । दाहालले ४३ हजार १२७ मत प्राप्त गरिन् भने ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे ।  निर्वाचन भएका ५ वटा महानगरमध्ये मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित भएको भरतपुर महानगरपालिका मात्रै हो ।  मतदान गरेको झण्डै ३ महिनापछि भरतपुर महानगरले नयाँ मेयर र उपमेयर पाएको छ ।

भरतपुर महानगरपालिकामा पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन भएको थियो । १९ नम्बर वडाको मतगणनाको क्रममा गत जेठ १४ गते मध्यराति माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो । मतपत्र च्यातिएपछि सो वडाका सबै मत बदर गर्दै निर्वाचन आयोगले साउन २० गते पुनः मतदान गराएको थियो । महानगरको वडा नम्बर २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ एमालेले जितेको छ । कांग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ नम्वर वडा जितेको छ । माओवादीले १३, २५ र २६ नम्वर वडा जितेको छ ।

Spread the love