सहारा दिने नाममा ११ वर्षीया बालिका बलात्कारको सिकार

ललितपुर इमाडोलका ११ वर्षीया बालिका भदौ २१ गते साँझ पाँच बजे घरबाट  साथी (१३ वर्षीया अर्की बालिका)सँग निस्किएकी  बालिका बलात्कारको सिकार भएको घटना सार्वजनिक भएको छ । भदौ २१ गते साँझ पाँच बजे घरबाट साथी (१३ वर्षीया अर्की बालिका)सँग निस्किएकी ती बालिका बस चढेर रत्नपार्कस्थित बसपार्क पुगेकी थिइन् ।

बसपार्क पुगेर झर्ने क्रममा ‘कता जाने अब घरमा जान मन छैन’ भनेपछि कीर्तिपुर बस्दै आएका कैलालीका हेमबहादुर खत्रीले ‘मेरो डेरा जाऊँ’ भन्दै प्रस्ताव राखेका थिए । सुरुमा अनकनाएपछि दुवै बालिका खत्रीसँग उनको डेरा जान राजी भए । प्रहरीका अनुसार खत्रीले डेरा पुगेपछि दुवैलाई खाना पकाएर खुवाए ।

राति सँगै सुते । १३ वर्षीया बालिका निदाएपछि उनले ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । तीन दिन सँगै डेरामा दुबै बालिकालाई राखेर यातना दिएपछि १३ वर्षीया बालिका डेराबाट भागेर आइतबार बल्खु प्रहरीमा पुगेकी थिइन् ।

प्रहरीले बालिकाका आफन्तलाई बोलाएर सोधपुछ गर्दा उनीहरू भदौ २१ गतेदेखि घर नआएको पत्ता लागेको थियो ।

१३ वर्षीया बालिकाकै सूचनाका आधारमा प्रहरीले कीर्तिपुरमा डेरा गरी बसेका खत्रीको डेरा फेला पार्यो । ११ वर्षीया बालिका रोइरहेको अवस्थामा फेला परेकी थिइन् । तर खत्री कोठमा थिएनन् । खोजतलास गर्ने क्रममा खत्रीलाई कीर्तिपुरबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।

स्रोत :कान्तिपुर

Spread the love