सरकारलाई राप्रपाले दिएको समर्थन फिर्ता लिने निर्णय

२४ साउन, काठमाडौं : पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपा विभाजनमा परोक्ष भूमिका खेलेको उसको आरोप छ । वरिष्ठ नेता पशुपतिशम्शेर राणाले हालै मात्र राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका छन् ।  पार्टी फुटपछि पहिलो पटक बसेको राप्रपा बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।  नेपाललाई हिन्दु राष्ट्र बन्न नदिने षड्यन्त्र अनुसार आफ्नो पार्टी फुटाएको राप्रपाको दाबी छ । ‘राष्ट्रवादी एवं हिन्दुराष्ट्र पक्षधर शक्ति बलियो भएको देख्न नचाहने राष्ट्रिय, अन्तराष्ट्रिय गिरोह, शक्ति केन्द्रहरुले धेरै अघिदेखि योजनावद्ध ढंगबाट राप्रपा र यसको नेतृत्वविरुद्ध प्रहार गरेका थिए’ राप्रपाले भनेको छ, ‘पार्टी विभाजन त्यही श्रृखलाको पछिल्लो कडी हो ।’    साथै शेरबहादुर देउवा नेतृत्वको सरकार मधेस समस्या समाधान गर्न उदासिन भएको राष्ट्रिय एकता दिवस मनाउन गरेको आग्रहलाई उपेक्षा गरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएको आरोप लगाएको छ ।   पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा अब संशोधनका पक्षमा भोट हाल्ने कि नहाल्ने भन्ने पत्रकारको प्रश्नमा थापाले पुनः केन्द्रीय समितिको बैठक बसेर मात्र निर्णय गर्ने बताए । राजपालाई चुनावमा ल्याउन नचाहेका कारण दुई तिहाई बहुमत पुर्‍याउन सक्ने सम्भावना हुँदाहुँदै नियतबस सरकारले संविधान संशोधन प्रस्ताव अघि नबढाएको राप्रपा अध्यक्ष कमल थापाको आरोप छ ।

Spread the love