प्रचण्डको राजीनामा माग शब्दका कारण कि गठबन्धनभित्रको खटपट

एउटा अभिव्यक्तिका कारण सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल फेरि अर्को अभिव्यक्तिका कारण विवादमा परेका छन्। उनको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध मात्रै गरेको छैन, उसले उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग पनि अघि सारेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्ता साझेदार नेपाली कांग्रेसकै एक महामन्त्रीले आपत्ति व्यक्त गरेका छन्। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ सात राजनीतिक दलहरूको बैठकमा समेत प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको नेताहरूले बताएका छन्।

चण्डको अभिव्यक्तिपछि विकसित राजनीतिक घटनाक्रमलाई एक विश्लेषकले सत्तारूढ गठबन्धनभित्र चुलिँदै गरेको मतभेदको असरका रूपमा समेत व्याख्या गर्न सकिने बताए। नेपालको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेपसँग जोडिएको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल र टेलिभिजन बहसहरूमा पनि प्रधानमन्त्रीको चर्को आलोचना भइरहेको छ। प्रधानमन्त्री प्रचण्डले चाहिँ आफ्नो भनाइको प्रतिरक्षा गरेका छन्। बिहीवार प्रधानमन्त्रीका प्रेस सल्लाहकारले वक्तव्य जारी गर्दै उनको उक्त “अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएको” जनाएका छन्।

गत सोमवार सिख समुदायका व्यवसायी प्रीतम सिंहबारे लेखिएको पुस्तक विमोचनमा बोल्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले गरेका प्रयासहरूको चर्चा गरेका थिए। “उहाँले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो काठमाण्डूका धेरै पार्टी नेताहरूसँग पनि लगातार छलफल गर्नुभयो,” विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडिओमा प्रचण्डले भनेको सुनिन्छ। ती भिडिओमा “राजनीति सफल भए मात्रै देश विकास हुने” सिंहको विश्वासको प्रशंसा गर्दै प्रचण्डले उनीसँगको निकटताबारे पनि चर्चा गरेको सुनिन्छ।

Spread the love