पुसअघि नयाँ प्रधानमन्त्री नियुक्तिको सम्भावना ‘न्यून’

मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट चुनिएका सांसदहरूमध्येबाट नयाँ प्रधानमन्त्री, मुख्यमन्त्रीहरू तथा सभामुख र उपसभामुखहरू कहिले छानिन्छन् भन्नेबारे धेरै मतदातामा जिज्ञासा हुनसक्छ।  अबको केही साताभित्रै देशले नयाँ प्रधानमन्त्री र मुख्यमन्त्री पाउने अपेक्षा गर्नुभएको छ भने यो समाचारले तपाईँलाई निराश बनाउन सक्छ। नयाँ निर्वाचित सांसदहरूले संसद् भवन प्रदेश गर्न कम्तीमा पुस महिनासम्म पर्खनुपर्ने हुनसक्छ। निर्वाचन आयोगका अधिकारीहरूका अनुसार पुस महिनायता नयाँ प्रधानमन्त्री र मुख्यमन्त्रीहरू बन्ने अवस्था छैन।

निर्वाचन परिणाम अन्तिम भई नसके पनि कुनै पनि दलको बहुमत नआउने निश्चित देखिएका कारण प्रधानमन्त्री नियुक्ति प्रक्रिया केही ढिलो हुनसक्छ। चुनिएका सांसदहरू प्रतिनिधिसभाको ६० प्रतिशत सदस्य मात्रै हुन्। बाँकी ४० प्रतिशत सांसद समानुपातिक प्रणालीबाट चयन हुन्छन्। निर्वाचन आयोगले समानुपातिक तर्फको मतगणना पनि सक्नै लागेको छ र यो प्रणाली मार्फत कुन दलबाट कति जना सांसद चुनिन्छन् भन्ने पनि खाका आइसकेको छ।

Spread the love