बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने

काठमाडौँ- पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ । यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । आज भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन आज भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम रहेको छ । राख्नुअघि अर्थात् बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाइँदै छ । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ ।

आज बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो । पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइने छ । आजै पशुपति क्षेत्रमा बालाचतुर्दशीका दिन शतबीज छर्दा जम्मा भएको फोहर सफा गर्ने कार्यक्रम रहेको जनाइएको छ । सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने छ । बालाचतुर्दशीका मेलाका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएका लाखौँ भक्तजनका कारण भएको फोहर कोषका कर्मचारीले मात्र सफाइ गर्न नसक्ने भएकाले सफाइ कार्यक्रम आयोजना गरिएको पनि प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

साभार : https://nepaltvonline.com/2023/12/86526/?fbclid=IwAR3v7IejY6sxBrzmNNpLzSsP0Q_TFY7PFBqqs_VRWdQVx1X-j_d-VlKmfqE

Spread the love