रास्वपाको ढाकाकुमार श्रेष्ठ सदस्यबाट निष्कासित – सांसद पद स्वत खारेज

एक जना व्यापारीसँग ठूलो रकम ‘घुस’ मागेको अडिओ बाहिरिएपछि विवादित बनेका सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दलको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ। चितवनमा बुधवार बसेको पार्टी केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट सांसद बनेका श्रेष्ठलाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल गरेको थियो। अनुसन्धान समितिले पार्टीलाई बुझाएको दस्ताबेजका आधारमा यस्तो निर्णय गरेको पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा बताए। भ्रष्टाचारको विषयमा आफ्नो दलले शून्य सहनशीलताको नीति अपनाउने बताउँदै उनले भने,”पार्टीको अनुसन्धानमा उहाँले कुनै अमुक व्यक्तिसँग मन्त्री बन्न पैसा चाहियो भनेको सुनियो। त्यो आवाज उहाँको हो। त्यो कुराकानी उहाँले गर्नु भएको हो। त्यसमा पैसा मागिएको छ।

सार्वजनिक व्यक्तिले त्यसरी पैसा माग्नु नै कारबाहीको यथेष्ट कारण भएको लामिछानेले बताए। गत माघमा सरकार विस्तारको तयारी भइरहँदा श्रेष्ठले आफू मन्त्री बन्न लागेको र त्यसका लागि “पार्टीलाई दुई करोड बुझाउनुपर्ने” भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक सहयोग मागेको भनिएको अडिओ आइतवार बाहिरिएको थियो। उक्त अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेर छानबिन गरेको थियो। पार्टीको अनुशासन समितिले आफ्नो छानबिन प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई त्यसअघि मङ्गलवार बुझाएको छ।

Spread the love