बालकुमारी घटनाका मृतकका परिवारलाई सरकारले क्षतिपूर्ति दिने

बालकुमारी घटनाका मृतकका परिवारलाई सरकारले क्षतिपूर्ति दिने

नेपाल सरकारले शुक्रवार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। पत्रकार सम्मेलनमा बोल्दै सरकारी प्रवक्ता मन्त्री शर्माले ‘केही चुक’ भएकैले शुक्रवार नै छानबिन समिति गठन गरिएकोछ। “उक्त घटनाको निष्पक्ष छानबिन गर्ने र भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्बन्ध संयन्त्रहरूलाई थप सतर्क संयमित र प्रभावकारी बनाउने पनि भएको छ।

कोरियाली भाषाको परीक्षामा सहभागी गराइनुपर्ने माग राखेर प्रदर्शन गरिरहेका युवाहरूमाथि प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो। बेरोजगार युवाहरू मारिएको भन्दै शनिवार पनि राजधानीका काठमाण्डू, ललितपुर सहित सुर्खेत लगायतका ठाउँमा प्रदर्शनहरू भएका छन्। सरकारले घटनाको छानबिनका लागि बनाइएको समितिको प्रतिवेदन नआउँदासम्म घटनासँग निलम्बन गरिएको जनाएको छ।

रास्वपाको ढाकाकुमार श्रेष्ठ सदस्यबाट निष्कासित – सांसद पद स्वत खारेज

एक जना व्यापारीसँग ठूलो रकम ‘घुस’ मागेको अडिओ बाहिरिएपछि विवादित बनेका सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दलको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ। चितवनमा बुधवार बसेको पार्टी केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट सांसद बनेका श्रेष्ठलाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल गरेको थियो। अनुसन्धान समितिले पार्टीलाई बुझाएको दस्ताबेजका आधारमा यस्तो निर्णय गरेको पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा बताए। भ्रष्टाचारको विषयमा आफ्नो दलले शून्य सहनशीलताको नीति अपनाउने बताउँदै उनले भने,”पार्टीको अनुसन्धानमा उहाँले कुनै अमुक व्यक्तिसँग मन्त्री बन्न पैसा चाहियो भनेको सुनियो। त्यो आवाज उहाँको हो। त्यो कुराकानी उहाँले गर्नु भएको हो। त्यसमा पैसा मागिएको छ।

सार्वजनिक व्यक्तिले त्यसरी पैसा माग्नु नै कारबाहीको यथेष्ट कारण भएको लामिछानेले बताए। गत माघमा सरकार विस्तारको तयारी भइरहँदा श्रेष्ठले आफू मन्त्री बन्न लागेको र त्यसका लागि “पार्टीलाई दुई करोड बुझाउनुपर्ने” भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक सहयोग मागेको भनिएको अडिओ आइतवार बाहिरिएको थियो। उक्त अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेर छानबिन गरेको थियो। पार्टीको अनुशासन समितिले आफ्नो छानबिन प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई त्यसअघि मङ्गलवार बुझाएको छ।