नेपाल रेमिट्यान्सः एक वर्षमा १० खर्ब रुपैयाँ-१५ सय जनाको शव

वारि र पारि घाम र छायाँ माझैमा पियार

संसारमा जन्म दिएर ईश्वर बैँसमा नमार

राष्ट्रकवि माधवप्रसाद घिमिरेका शब्द, नातिकाजीको सङ्गीत र स्वरसम्राट नारायण गोपालको स्वरसहितको यो कालजयी गीतको उक्त पङ्क्तिले अहिलेको नेपाली समाजको पीडा झल्काउँछ। गएको पुस ६ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाकी २५ वर्षीया विद्याकुमारी पटेलको जीवनमा अचानक नसोचेको मोड ल्यायो।

परिवारको लालनपालनका निम्ति सात समुद्र पार मलेशिया काम गर्न गएका उनका पति सञ्जयकुमार राउतले परदेशमै ज्यान गुमाएको खबर आयो। “वहाँ त्यहाँको रबर फ्याक्ट्रीमा काम गर्नुहुन्थ्यो। अचानक आत्महत्या गरेको खबर आयो।” त्यतिखेर उनको उमेर जम्मा २६ वर्षको थियो। एसएलसी पास भएपछि कतै काम नपाएर विदेश गएका थिए।

धनुषा नेपालबाट वैदेशिक रोजगारीका निम्ति सबभन्दा धेरै युवा पठाउने जिल्लामध्ये पर्छ। सोही जिल्लाको धनौजी गाउँपालिकाबाट परिवारको पेट पाल्न खाडी मुलुक कतार गएका बिक्रु मण्डलको कथा पनि उत्तिकै पीडादायी छ। “२०७८ सालको असार ५ गते बनिरहेको भवनबाट खसेर मेरो बुवाको मृत्यु भएको जानकारी आयो,” उनका २१ वर्षका छोरा मुकेश मण्डलले परिवारमा परेको वज्रपातबारे सुनाए। पढाइ छाडेर त्यत्तिकै बसिरहेका मुकेश मण्डल स्वदेशमै राम्रो काम पाए विदेश जाने मन नभएको बताउँछन्।

Spread the love