कोदो विश्वभरि चर्चा

आगामी आर्थिक वर्षको बजेटमा समेटिएको एउटा नारा छ- ‘रैथानेमा गर्व गरौँ।’ उक्त नाराका साथमा बजेटको बुँदा नम्बर- ८८ मा भनिएको छ, “…परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बिऊ संरक्षण गरी खेती विस्तार गरिनेछ।” कर्णाली प्रदेशलगायत विभिन्न स्थानका मार्सी, कागुनु, कोदो, फापर, जौ, लट्टे, सिमीलगायतका रैथाने बालीको उत्पादन खाद्य तथा व्यापार कम्पनीमार्फत् खरिद गरिनेछ।” अहिले पनि देशका विभिन्न भागमा कोदोजन्य बालीलाई ‘कुअन्न’ भन्नेहरू कैयौँ छन्। तर केही वर्षदेखि सरकारको नीति तथा कार्यक्रम, बजेट र योजनामा कोदोजन्य बालीले पनि महत्त्व पाउँदै आएको छ।

आउँदो साउनदेखि लागु हुने नयाँ बजेटमा कोदोलाई पहिलेका तुलनामा केही “बढी” महत्त्व दिइएको अधिकारीहरूको दाबी छ। तर त्यस्तो महत्त्व नेपालमा मात्र दिइएको होइन किनभने उक्त बालीबारे अहिले विश्वभरि नै चर्चा भइरहेको छ। र, त्यसको प्रमुख कारण हो- संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ घोषणा गर्नु। राष्ट्रसङ्घको ७५औँ महासभाले सन् २०२१ मार्चमा यो वर्षलाई ‘कोदोजन्य बाली वर्ष’का रूपमा मनाउने घोषणा गरेको थियो। राष्ट्र सङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठनका अनुसार “कोदोको उपयोगिताबारे जागरुकता फैलाउन र प्रत्यक्ष रूपमा नीतिगत प्रभाव पार्न” यस्तो घोषणा गरिएको हो। उसका अनुसार पोषण र स्वास्थ्यका हिसाबले लाभकारी कोदो ‘प्रतिकूल र परिवर्तनशील मौसमी परिस्थितिमा पनि खेतीका लागि उपयुक्त बाली हो। राष्ट्रसङ्घीय अभियानसँगै अहिले कोदो उत्पादन हुने राष्ट्रहरूले विभिन्न कार्यक्रम तथा योजना बनाएर कोदोजन्य बालीबारे प्रचारप्रसार गरिरहेका छन्। नेपालमा पनि सरकारले ‘कोदोजन्य बालीबारे’ जनचेतना जगाउने र प्रवर्धन गर्ने कार्य गरिएको अधिकारीहरू बताउँछन्। तर कतिपय विज्ञ भन्छन्- “कोदो बाली प्रवर्धनका लागि गरिएका काम खासै प्रभावकारी छैनन् र अहिले पनि यसलाई बेवास्ता नै गरिएको छ।”

सोलुखुम्बुमा लगाइएको कोदो
Spread the love