बाँदरले किसान लखेट्दै कतै बन्दुक पड्काइँदै, यसरी भइरहेछन् हायलकायल

चैतको मध्ये दिउँसो पर्वत जिल्लाको पैयूँ गाउँपालिकास्थित सौरीकोट गाउँमा एक हुल गाउँले हस्याङफस्याङ गर्दै बाँदर धपाइरहेका थिए। चर्को घाममा असिनपसिन मानिसहरू होहल्ला गर्दै बाँदरको पछि लाग्दै थिए। कसैको हातमा लाठी थियो भने कसैको हातमा गुलेली। गहुँ बारीमा पसेका बाँदरका बथान उफ्रिएर छेउको बाँस झ्याङमा पुग्यो। केही गाउँलेको लसुन र प्याजका मुन्टा पनि चुँडाल्न तिनले भ्याइसकेका रहेछन्। मान्छेको हुल देखेपछि बाँसको बाक्लो झ्याङमा छिरेका बाँदर त्यसपछि केही बेरका लागि अलप भए दिनैपिच्छेको हैरानीबाट आजित स्थानीय किसान राधा न्यौपानेले बाँदरले आफूहरूलाई ‘रुवाइ छाडेको’ बताइन्। “खेती गरेर भित्र्याउँछु भन्नै परेको छैन। गाउँतिर खेतहरू बाँझै छन्। त्यसले केही बाँकी नराख्ने रहेछ। मकै, गहुँ, मुसुरो, केराउ, कोदो केही छाडेन। धान पनि मिच्ने रहेछ,”

“बिहान ६ बजेदेखि घरबाट निस्केको। खान पनि पाएको छैन। यिनीहरूकै पछि लाग्दैमा ठिक्क छ। घरैभित्र छिरेर आँटीको मकै पनि बाँकी राख्दैन,” निधारको पसिना पुछ्दै उनले भने। बिहान उठेदेखि अरू काम छाडेर भए पनि बाँदर धपाउन जानै पर्ने अवस्थाको चित्रण गर्दै न्यौपानेले चर्को स्वरमा सरकारको आलोचना गरे। “सरकारले बरु हामीलाई पाल्देओस्। नत्र आफ्नो खेतीको पनि खान नपाएपछि किन गर्नु यो खेती?”  जाने जतिको उपाय अपनाउँदा पनि बाँदरबाट जोगाउन नसकिएको सुनाउँदै उनले भने, “अलि अघि पटाका ल्याएर सालघारीमा पनि पड्कायौँ। तर पुलिस आएर उल्टै हाम्रो सातो गयो।”

अचेल नेपालका कैयन् स्थानका किसानहरू खास गरी मकै खेतीबाट एक किसिमले विकर्षित नै भइरहेको नेपाल कृषि अनुसन्धान परिषद्का अधिकारीहरू बताउँछन्। खेतमा बाँदर पसेर बाली खाइदिने, भाँच्दिने अनि बिगारिदिने क्रम बढेपछि किसानहरू बिलखबन्दमा परिरहेका छन्। मकै मात्र नभई लगभग सबैजसो खाद्यान्न, तरकारी, तथा फलफूलमा पनि बाँदरले त्यसै गरी नोक्सानी पुर्‍याउने गरेको किसानहरूको साझा गुनासो रहँदै आएको छ। देशभरि बाँदरका कारण किसानलाई कति नोक्सानी पुगिरहेको छ भन्ने बारे न त कृषि मन्त्रालय न त कृषि विभाग न त अन्य सरकारी निकायले नै कुनै लेखाजोखा गरेका छन्। ती निकायका अधिकारीहरू बाँदरले धेरै हानि पुर्‍याइरहेकोमा चाहिँ एकमत छन्।

“विशेष गरी मध्ये पहाडी क्षेत्रमा बाँदर, बँदेल र दुम्सी अनि तराईमा नीलगाई समेतले बालीनालीमा नोक्सानी पुर्‍याउँदै आएका छन्। एक दशक यता चाहिँ बाँदरको समस्या महामारी जस्तै भएर देखा परेको छ,” नेपाल कृषि अनुसन्धान परिषद्को राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि वैज्ञानिक श्रीमत श्रेष्ठले बताए। त्यसरी बाँदरको सङ्ख्या र समस्या फैलनुमा देशमा बसाइँसराइको प्रवृत्ति मुख्य जिम्मेवार भएको उनी ठान्छन्।

आफ्ना गाउँमा बाँदरले दु:ख दिएकै कारण मानिसहरू खेतीबाट पलायन हुन थालेको कृषक लेखनाथ बस्याल बताउँछन्। “एक हलको मेलोलाई उत्पादन गराउनका लागि हामीकहाँ मकै छर्दा तीन हजार रुपैयाँ खर्च हुन्छ। गोडमेललाई अर्को तीन हजार लाग्छ तर भित्र्याउने बेला केही पनि पाइँदैन,” । यस्तो राम्रो उर्वरा शक्ति भएको ठाउँमा बाँदरले नाश गरेपछि मानिस विस्थापित भएका छन्।” आगामी चार-पाँच वर्षमा त खेती गर्ने कोही बाँकी नहुने चिन्ता उनले प्रकट गरे। तर बाँदरले बाली नोक्सानी गरेकै कारण कुल खेती योग्य जमिनमध्ये कति प्रतिशत बाँझो छाडिएको छ त भन्ने प्रश्नको उत्तर आफूहरूसँग पनि नभएको कृषि अनुसन्धान परिषद्का अर्का वरिष्ठ कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए। अर्बौँ रुपैयाँको नोक्सानी भइरहेको हामी अनुमान गर्न सक्छौँ। एउटा लगाएको बालीमा हुने नोक्सानी छ भने अर्को उसले नाश गर्ला भनेर बाली तथा फलफूल रोप्नै छाडेका पनि छन्,” उनले भने। सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा कृषि विभागसँग पनि बाँदरले पुर्‍याएको नोक्सानी यकिन विवरण छैन। प्रदेशहरूले आफ्नै तहबाट यस्ता समस्याको रेकर्ड राखिरहेको पाइन्छ। “हामीले जिल्ला तथा पालिकाबाट आँकडाहरू सङ्कलन त गर्न खोजिरहेका छौँ। तर यो एउटा राष्ट्रिय मुद्दा नै बनिसकेको छ। कसरी अगाडि बढ्ने भन्ने एउटा नीति चाहिन्छ,” गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव टंकप्रसाद प्रसाईले भने। यसै साता राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको राष्ट्रिय कृषि गणना २०७८ को ‘सामुदायिक प्रतिवेदन’मा जङ्गली जनावरले कृषि उत्पादनमा पुर्‍याएको हानिनोक्सानीबारे वडा तहमा गरिएको अध्ययनको नतिजा उल्लेख छ। सो नतिजाअनुसार देशभरिका करिब ६ हजार वडामा गरिएको अध्ययनमा सबैभन्दा बढी झन्डै ४ हजार वडामा बाँदरले कृषिजन्य उत्पादनमा हानिनोक्सानी पुर्‍याउने गरेको उल्लेख छ।

Spread the love