आज महाशिबरात्री – शिबरात्रीका साधु

Mahashivaratri_pashupatinath

दिपक न्यौपाने, २७ फागुन, काठमाडौं :  पशुपति क्षेत्र विकास कोषले शिवरात्रिको सम्पूर्ण तयारी पूरा गरेको छ । राममन्दिर अखडा, भस्मेश्वर, निर्मल अखडा, अन्नपूर्ण आश्रम र उमाकुण्डमा साधुसन्तलाई राखिएको छ ।   महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । कोषका सदस्य सचिव गोविन्द टण्डनका अनुसार दर्शनार्थीको व्यवस्थापन, सुरक्षा र स्वास्थ परीक्षण लगायत आवश्यक तयारी पूरा गरिएको छ । महास्नानघाट, स्वर्गद्वारी, कालमोचन, गोरखनाथ लगायतका क्षेत्र पनि साधुसन्तले भरिएका छन् । साधुसन्तको खाना र बस्ने व्यवस्था आश्रममै मिलाइएको छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

Mahashivaratri_pashupatinath

करिब तीन सय नागा बाबालाई मुख्य मन्दिर परिसरमा राखिएको छ । नागा बाबा दर्शन गर्न मुख्य मन्दिर परिसरमा भीड लागेको उनले बताए । नागा बाबालाई पशुपतिको मुख्यद्वारदेखि विभिन्न क्षेत्रमा धुनी बालेर विशेष व्यवस्थापका साथ राखिएको उनले बताए । अघोरी बाबाले पनि पाशुपत र राममन्दिर क्षेत्र भरिभराउ भएको छ । पशुपति क्षेत्र साधुसन्तमय भएको छ । अघोरी, नागालगायत साधुसन्तको उल्लेख्य उपस्थिति रहेको उनले जानकारी दिए । उनका अनुसार ३५ सय साधुसन्तको आगमन भइसकेको छ । वनकाली धर्मशालाको खाली चौरमा दर्शनार्थीका लागि खाना र स्वास्थ्य शिविरको व्यवस्था मिलाइएको छ । ९० वटाभन्दा बढी सामाजिक संघसंस्थाले दर्शनार्थी सुरक्षा र सेवाका लागि खटिने तयारी छ ।    यसपटक १० लाख दर्शनार्थी पशुपतिनाथ मन्दिर आउने कोषले अनुमान गरेको छ ।

Spread the love