इजरेलबाट नेपालीको उद्धार गर्न आजै नेपालबाट विमान पठाइने

लेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परेर इजरेलमा निधन भएका १० नेपालीको शव नेपाल ल्याउन तथा त्यहाँ अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि “सकभर आजै नेपालबाट विमान पठाइने” परराष्ट्रमन्त्रीले बताएको छ।

बुधवार बिहान बीबीसी न्यूज नेपालीसँग सङ्क्षिप्त कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले उक्त जानकारी दिएका हुन्।

“नेपाल वायु सेवा निगमले हवाई उडान अनुमतिका लागि पहल गरिरहेको छ। उडान अनुमति पाउनेबित्तिकै हामी सकभर आजै विमान त्यसतर्फ पठाउँछौँ,” उनले भने।

शनिवार हमासले गरेको आक्रमणमा गाजानजिकै १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। हराइरहेका भनिएका विद्यार्थी विपीन जोशीको खोजी कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्। हमास र इजरेलबीच लडाइँ भइरहेको क्षेत्रबाट सुरक्षित स्थानमा लगिएका नेपालीहरूले भने उद्धार कहिले हुन्छ भन्ने निश्चित नहुँदा आफूहरू “थप अन्योलमा परेको” बताएको छ।

इजरेलमा निधन भएका १० जना नेपालीको शव नेपाल ल्याउनका लागि इजरेल सरकारका विधिविज्ञान निकायसँग समन्वय भई सकेसम्म चाँडो ल्याउनेगरी कार्यप्रक्रिया सुरु भइसकेको छ,” वक्तव्यमा भनिएको छ। मङ्गलवार अपराह्ण परराष्ट्रमन्त्री साउदले इजरेली समकक्षीसँग टेलिफोन कुराकानीसमेत गरेको बताएको छ। इजरेली परराष्ट्रमन्त्री एली कोहेनले नेपालीहरूको शव फर्काउन र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Spread the love