पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई १० वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।त्यहाँको एउटा अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको छ। खानमाथि प्रधानमन्त्री भएका बेलामा वासिङ्टनस्थित पाकिस्तानका राजदूतले इस्लामाबाद पठाएको गोप्य कूटनीतिक पत्र चुहावटको भएको आरोप लगाइएको छ। साइफर घटना भनेर चिनिने उक्त मामिलामा खानलाई कूटनीतिक पत्र आफ्नो साथमा राखेको र त्यसलाई सार्वजनिक पनि गरेको आरोप लागेको छ। अभियोजनकर्ताहरूले खानको कार्यले गोप्य कागजात चुहावट गरिनुका साथै कूटनीतिक सम्बन्धलाई क्षति पुर्‍याएको आरोप लगाएका छन्। उक्त मुद्दा वाशिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ। ती दस्तावेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए।

Spread the love