अन्तराष्ट्रिय बजारमा डलर कमजोर सुन महंगो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३० हजार ३ सय रुपैयाँ पुगेको छ । शुक्रबार अमेरिकी डलरको विनिमय दर र सुनको मूल्य दुवैले रेकर्ड राखेको छ । केही समय अगाडि डलर र सुनको सम्बन्ध उल्टो हुने गरे पनि अहिले भने डलर र सुन समानान्तर रुपमा उकालो लागिरहेको छ । मेरिकी डलरको विनिमय दर पनि हरेक दिन नयाँ उचाईमा पुग्दैछ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर १ सय ३३ रुपैयाँ ९७ पैसा कायम भएको छ जुन अहिलेसम्मकै उच्च विनिमय दर हो । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग १ सय भारु बराबर १ सय ६० नेरुमा स्थिर गरिएको छ ।
नेपाली बजारमा ०७५ सालको बैशाख महिनामा प्रतितोला ५८ हजार रहेको सुनको मूल्य २०८१ को बैशाख महिनाको पहिलो हप्तासम्म आइपुग्दा १ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । ६ वर्षको अन्तरालमा सुनको मूल्य ८१ हजारले वृद्धि भएको देखिन्छ । २०७६ बैशाखमा प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको तथ्यांक छ । २०७९ को बैशाखसम्म आइपुग्दा भने सुनको मूल्यले १ लाखभन्दा पुगिसकेको थियो भने २०८० बैशाख पुग्दा यो सुनको मूल्य १ लाख १० हजार रुपैयाँको हाराहारीमा थियो । व्यापारमा अनिश्चितता बढ्दै जाँदा चीन लगायत धेरै देशको केन्द्रीय बैंकले सुनमा आफ्नो होल्डिङ बढाउँदै लगेको छ । सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्य पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको युक्रेन रसिया युद्ध साम्य हुन नपाउँदै शुरु भएको इरान इजरायल युद्धको प्रभाव सुनको मूल्यमा पर्न गएको बताउँछन् । केन्द्रीय बैंकहरूले सुनलाई दीर्घकालीन मूल्यको भण्डार र आर्थिक र अन्तर्राष्ट्रिय उथलपुथलको समयमा पनि सुरक्षित रहने हुनाले निकै महत्व दिने गरेका छन् । अहिले इजरायल र हमासको युद्धका कारण पनि सुनको मूल्यमा थप वृद्धि भएको जानकारहरुको भनाइ छ ।

विश्वमा सबैभन्दा धेरै सुन भण्डार गर्ने देशको पहिलो नम्बरमा अमेरिका पर्दछ । हाल अमेरिकासँग मात्रै ८ हजार १३३ टन सुन भण्डारण रहेको छ । अमेरिकाको विदेशी मुद्रा संचितिमा सुनको हिस्सा ७० प्रतिशतभन्दा धेरै छ । यस्तै, दोस्रो नम्बरमा रहेको छ जर्मनी । जर्मनीसँग ३ हजार ३५३ टन सुन भण्डारण छ । तेस्रो धेरै सुन इटलीसँग २ हजार ४५२ टन, फ्रान्ससँग २ हजार ४३६ टन, रसियासँग २ हजार ३३३ टन छ । तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको आठ महिनामा १६ अर्ब १२ करोडरुपैयाँ बराबरको कुल १९ सय किलोग्राम सुन आयात भएको देखिन्छ । सोही अवधिमा सरकारले २ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ राजस्व कमाएको छ ।

Spread the love