गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई उडानको तयारीमा छ।  फागुन ६ गतेबाट क्यालिब्रेसन उडान हुने भएको छ। दुई चरणमा निर्माण भएको विमानस्थलको आईसीबी १ र आईसीबी २ को काम सम्पन्न भएकाले परीक्षण उडानका लागि दक्ष एरोथाईका प्राविधिकले उपकरण चेकजाँच गरेका छन्। एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज फागुन ५ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर भैरहवा विमानस्थल आउनेछ।  क्यालिब्रेसनको अवरोध  हटाउन दिउँसो नियमित उडानमा रोक लगाइएको छ। परीक्षण उडानपश्चात् यो विमानस्थलमा आन्तरिक उडान हुन्छ।

उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायुसेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।  भैरहवाबाट आन्तरिकतर्फ काठमाडौं, पोखरा र भरतपुरका लागि २२ वटा नियमित उडान हुने गरेको छ। विमानस्थल भौतिक रूपमा सञ्चालन योग्य भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका लागि १२औं तहको अधिकृतलाई महाप्रबन्धकको रूपमा पठाएको छ। माघ २ गतेबाट प्राधिकरणले गोविन्दप्रसाद दाहाललाई व्यवस्थापनको जिम्मा दिएको छ। विमानस्थल सञ्चालनका लागि तयार छ। हवाई इन्धनका लागि भण्डारण क्षमता बढाइएको छ। विद्यु्त्का लागि पनि डेडिकेटेड लाइन व्यवस्थापन गरिएको छ। विद्युत् लाइनमा आपूर्ति नहुँदा स्वचलित हुने जेनेरेटर भएकोले विद्युत्को समस्या नहुने विमानस्थल प्रशासनले जानकारी दिएको छ। परीक्षण उडानको दुई महिनापछि मात्रै नियमित उडान हुन्छ।

Spread the love