मध्यजापानमा शक्तिशाली भूकम्प र सुनामी

नयाँ वर्षको पहिलो दिनमै मध्यजापानमा एउटा शक्तिशाली भूकम्प गएको छ। जापानको तटीय नोतो क्षेत्रमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको हो। स्थानीय समयानुसार दिउँसो ४ः०६ पहिलो पटक ५.७ म्याग्निट्यूडको भूकम्प मापन गरिएपछि त्यहाँ थप भूकम्पहरू आएको जापानको मौसम निकायले जनाएको छ। पहिलो भूकम्प गएपछि एक घण्टाको अवधिमा ७.६ म्याग्निट्यूडको सहित कम्तीमा पाँचवटा भूकम्प मापन गरिएको थियो। सबैभन्दा शक्तिशाली भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउँदा केही क्षति भएको छ।

समुद्री तटमा रहेका मानिसहरूलाई उच्च भागतर्फ जान अधिकारीहरूले आग्रह गरेका छन्। जापानी राष्ट्रिय प्रसारक एनएचकेका अनुसार नोतो क्षेत्रको इशिकावा जिल्लाको तटीय क्षेत्रबाट मानिसहरूलाई  “तत्काल उच्च भागमा जान” निर्देशन दिइएको छ। एनएचकेका अनुसार झन्डै पाँच मिटरजति अग्लो छाल नोतो क्षेत्रमा पुगेको छ। अधिकारीहरूले छिमेकी निगाता र तोयामा जिल्लामा पनि सुनामीको चेतावनी जारी गरेका छन्। ती क्षेत्रमा झन्डै तीन मिटर अग्ला छाल पुग्न सक्ने चेतावनी दिइएको छ। भूकम्पपछि भएको क्षतिको यकिन विवरण आइसकेको छैन। जापानमा भूकम्प जानु नौलो नभए पनि त्यसका कारण उत्पन्न हुने सुनामीले ठूलो धनजनको क्षति गराउन सक्ने ठानिएको छ।

Spread the love