फरार ‘माननीय’ दीपक मनाङे पक्राउ

फरार सूचीमा रहेका दिपक मनाङे (राजीव गुरुङ) प्रदेश नम्बर ४ का प्रदेश सभा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई  स्वयम्भूको तीनधाराबाट  पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ २०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो।  भोली नै मनाङेलाई फैसला कार्यान्वयका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइने जानकारी स्रोतले दिएको छ । लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भयो। त्यसपछि प्रहरीले मनाङेको खोजी थालेको हो। २०६१ सालमा ‘गुण्डा नाइके’ चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो। घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाइ दिएपछि मनाङेलाई पुनरावेदनले पहिल्यै ५ वर्षको कैद सजाय सुनाएको रहस्य बाहिर आएको थियो।  जिल्ला अदालतको फैसलापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङेलाई सजाय कम भएको दाबी गर्दै समूहविरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो। सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङेबाहेक अन्य चार जनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए।

Spread the love