सूर्यको पूजा गरी छठ पर्व मनाइँदैछ

छठ पर्वको आज तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्व मनाइँदैछ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रत बस्ने गरिन्छ। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई ब्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ।  यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधि विधान रहेको छ ।

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ। छठ पर्वका लागि काठमाडौंको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ ।

Spread the love