अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउँछु : उपप्रधान तथा अर्थमन्त्री पौडेल

राष्ट्रपति कार्यालयमा सपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहणपछि पौडेलले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि आफूले काम गर्ने बताउनुभयो । “अर्थतन्त्रका अहिलेका चुनौतीहरू के हुन् ? ती चुनौती सिर्जना हुनुको कारण के हो ? त्यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण के  हुन् ? र तिनको समाधानका लागि के कदम चाल्नुपर्छ ? भन्ने विषयमा सबै क्षेत्रका विज्ञसँग सघन छलफल गर्नेछौँ”, उहाँले भन्नुभयो, “अर्थतन्त्रका समस्या पहिचान गर्ने र त्यसको समाधान गर्ने आत्मविश्वासका साथ यो जिम्मेवारीमा आएको छु ।”

दलहरूको भागबन्डामा परेर आफू अर्थमन्त्री बनेको नभई निर्वाचनपछि जनताले दिएको जिम्मेवारी पूरा गर्न आएको पनि उहाँको भनाइ छ । “हामी भागबण्डामा होइन कर्तव्य निर्वाहमा विश्वास गर्छौं । निर्वाचनको नतिजास्वरूप यो सरकार बनेको हो र मुलुकलाई नेतृत्व गर्ने अभिभाराअनुसार हामी आएका हौँ”, उपप्रधान तथा अर्थमन्त्री पौडेलले भन्नुभयो ।

Spread the love