आज त्रयोदशीको दिन साँझ दीपदान गरेर बालाचतुर्दशी पर्व मनाईंदै

प्रत्येक वर्षको मंसिर महिनाको कृष्ण चतुर्दशीमा बालाचतुर्दशी पर्व मनाइन्छ । बालाचतुर्दशी पर्व पितृका नाममा साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर मनाइन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ ।

अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ । यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपति परिसरमा आइपुग्छन् । त्रयोदशीको दिन साँझ दीपदान गरेर उनीहरु रातभर भजनकीर्तन गरी जाग्राम बस्छन् र भोलिपल्ट चतुर्दशीको दिन आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्छन् । भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ ।

Spread the love