गीतकार बी पाण्डेलाई जनसेवाश्री पदक

लोकप्रिय तथा चर्चित गीतकार बी पाण्डे जनसेवाश्री पदकबाट विभूषित हुनुभएको छ । मुलुकको विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नेक्रममा राष्ट्रपति भवन शीतल निवास, महाराजगञ्जमा शुक्रवार आयोजित समारोहबीच महामहिम राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई उक्त पदकबाट सुशोभित गर्नुभएको हो । गीत लेखनको माध्यमबाट समाज–राष्ट्रमा उल्लेख्य योगदान पुर्याएकोमा गीतकार पाण्डेलाई सो विधामा यो वर्षको जनसेवाश्री प्रदान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । विभूषण अधिकारपत्रमा भनिएको छ– ‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईंबाट भएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरुप जनसेवाश्री पञ्चम श्रेणीद्धारा विभूषित गरिएको छ । मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा तपाईंलाई थप सफलता हुनेछ ।’
नेपालको संविधानको धारा २७७ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा २०७९ असोज ३ गते योविभूषण घोषणा गरिएको हो । राष्ट्र र जनताको पक्षमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तित्वलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर बैशाख १ मा विभूषण वितरण गर्ने कानुनी व्यवस्था छ ।विभूषण वितरण कार्यक्रममा सम्माननिय उपराष्ट्रपति रामसहायप्रसाद यादव, सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्कासहित विभिन्न विभागिय मन्त्रीहरू, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपाध्यक्ष उर्मिला अर्याल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुखइन्दिरा रानामगरलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो ।
उसो त विगत दुई दशकभन्दा अघिदेखि व्यवसायिकरुपमा नै कला र मनोरञ्जनको क्षेत्रप्रति समर्पित पाण्डे बरिष्ठ गीतकारको रुपमा सुपरिचित हुनुहुन्छ । नेपाली गीत संरक्षण, सवद्र्धन, प्रवद्र्धन तथा विकासमा उहाँको ठूलो योगदान छ । विशेषतः आधुनिक गीतमा पोख्त उहाँको लेखन चलचित्र, लोक, राष्ट्रिय गीत तथा गजलमा पनि उत्तिकै छचल्किन्छ । पाण्डेले ३२ वटा गीत समावेश ‘पञ्चरत्न’लगायत सात वटा एल्वम, डेढ सयभन्दा बढी गीत अनि एक सय गीत समेटिएको ‘मेरा सय गीतहरू’ नामक पुस्तकसमेत पस्किसक्नुभएको छ । ‘शंका नगर…’, ‘खाएको कसम फिर्ता…’, ‘छन् छन् बोली चुराको…’, ‘कोहीको माया…’, ‘जालीरुमाल…’, ‘कुरै बुझिन…’, ‘पिरतीमा…’, ‘यो देश फेरि बन्छ…’, ‘बनकी चरी के भन्छे…’, ‘रुमालै बाटेर…’, ‘कसरी…’ आदि उहाँका चर्चित गीत हुनु ।
हाल म्युजिक प्रोड्युशर एसोसियसन नेपालको अध्यक्ष, संगीत रोयल्टी संकलन समाज नेपालको महासचिव, सहयात्रा नेपाल र दाङ एकीकृत बिकास सेवा नेपालको मानार्थ सदस्य तथा गीतकार संघको आजीवन सदस्यसमेतरहनुभएका पाण्डेले यसअघि ‘बेस्ट लिरिसिस्ट अफ द इयर’ (चलचित्र)मा सातौं राष्ट्रिय राप्ति म्युजिक अवार्ड–२०७५, जिनियस म्युजिक अवार्ड–२०७५, सगरमाथा म्युजिक अवार्ड–२०७६, नेशनल ब्राण्ड म्युजिक अवार्ड–२०७७, तेस्रो नेपाल म्युजिक एण्ड फेशन अवार्ड–२०२२ प्राप्त गरिसक्नुभएको छ । यसैगरी ‘रिबन इन्टरटेनमेन्ट प्रा. लि.’ को आयोजनामा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति श्री परमानन्द झाको हातबाट ‘राष्ट्रिय व्यक्तित्व तथा स्रस्टा सम्मान–२०७८’ प्राप्त र्गुभएको छ । यस्तै‘ब्राण्डरुट इन्टरटेनमेन्ट प्रा. लि.’ ले दोस्रो नेशनल ब्राण्ड म्युजिक अवार्ड–२०७८ मार्फत ११ हजार एक सय ११ रुपैयाँ नगदसहित तत्कालिन शिक्षा, बिज्ञान तथा प्रबिधिमन्त्री देवेन्द्र पौडेलको हातबाट ‘राष्ट्रिय गीतकार सम्मान–२०७९’ प्रदान गरेको छ । ‘सामना म्युजिक क्रियशन प्रा. लि.’ को आयोजनामा ‘तेस्रो राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड)–२०७९’ मार्फत पूर्व सभामुख कृष्णबहादुर महराबाट नगद रु २० हजार पाँच सयसहित ‘साधना बरिष्ठ सर्जक सम्मान–२०७९’पनि प्राप्त गर्नुभएको छ ।

Spread the love