‘योमरी पुन्हि’ पर्व

काठमाडौं,१५ पुस : मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ । धान्य पूर्णिमाको दिन नेवार समुदायले ‘योमरी पुन्हि’ पर्व मनाउने गर्छन्।  यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी बनाएर खाने गर्दछन । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ । यहि दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । योमरी पुन्हीका दिन विभिन्न मठमन्दिरहरूमा मेला लाग्ने गर्छ । यसदिन बनेपाको धनेश्वर मन्दिरमा ठुलो मेला लाग्ने गर्छ । त्यस्तै बौद्धमार्गीहरु पनि स्वयम्भू, बौद्ध लगायतका विभिन्न चैत्य वा बिहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ ।

नेवार संस्कृतिमा योमरीको बिषेश महत्त्व छ । धनसम्पत्ति, बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा योमरी पुन्हीका दिन सबैले योमरी सहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने गरिन्छ । नेवार समाजमा छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केहि समय अघि माइतीबाट दही च्यूरा खुवाउने बेलामा १ सय ८ वटा योमरी लैजानुपर्ने चलन रहेको छ ।  त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर योमरी खसाल्ने चलन छ ।

धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी, भैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने गरिन्छ । योमरीलाई अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहेको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ ।

Spread the love