विश्वकपको फाइनलमा पुग्न मेस्सी र मोड्रिचबीच प्रतिस्पर्धा

बालोन डि’ओर बाट सम्मानित, १० नम्बरको जर्सी लगाउने, विश्वकपको फाइनलमा पुगेर पराजय भोगेका, आ-आफ्ना टोलीका कप्तान र खेलजीवनबाट अवकाश लिनुअघि विश्वकप उचाल्ने अन्तिम अवसर। मङ्गलवार मध्यरातपछि हुने फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा आमुन्नेसामुन्ने हुन लागेका आर्जेन्टिनाका लियोनेल मेस्सी र क्रोएशियाका लुका मोड्रिचबीच तुलना हुने यस्ता कैयौँ विषय छन्।

पीएसजीबाट खेल्ने ३५ वर्षीय मेस्सी अनि रेआयल मड्रिडका ३७ वर्षे मोड्रिचका लागि यो विश्वकप फुटबलको अन्तिम प्रतियोगिता हो। विश्वकपको यात्रामा यी दुई खेलाडी आ-आफ्ना टोलीका लागि निकै महत्त्वपूर्ण छन्। दुवैले क्वार्टरफाइनलमा भएको ‘पेनाल्टी शूट-आउट’मा गोल गरेका छन्। नेदरल्यान्ड्ससँगको खेलमा मेस्सीले पहिले प्रहार गर्दै पेनाल्टीमार्फत् गोल गरे। मोड्रिचले ब्रजिलसँगको खेलमा आफ्नो टोलीको तर्फबाट तेस्रो नम्बरमा आएर गोल गरे।

विश्वकपमा ‘पेनाल्टी शूट-आउट’मा तीन पटक गोल गर्ने उनी पहिलो खेलाडी हुन्। सन् २०१८ मा उनले डेन्मार्क र रुसविरुद्ध पेनाल्टीमा गोल गरेका थिए। निर्धारित ९० मिनेटको समय वा ३० मिनेट थप गरी हुने १२० मिनेटको समयमा मेस्सीको प्रदर्शन उत्कृष्ट छ। उनले चार गोल गरेका छन् भने दुई गोलका लागि पास दिएका छन्।  मोड्रिचले भने अहिलेसम्म यो प्रतियोगितामा उक्त समयमा गोल गरेको वा पास मिलाएका छैनन्।

तर मेस्सी ‘फर्वार्ड’का रूपमा खेल्छन् भने मोड्रिच ‘मिडफील्डर’ हुन्। यो विश्वकपमा मेस्सीले २५ वटा शट प्रहार गरेका छन्। तीमध्ये १२ वटा लक्ष्यमा पुगेका थिए। त्यसपछिको स्थानमा फ्रान्सका किलियान एम्बाप्पे छन्। गोल्डन बुटको दाबेदारीमा भने पाँच गोल गरेका एम्बाप्पे मेस्सीभन्दा अगाडि छन्। मेस्सीले अहिलेसम्म कुल चार गोल गरेका छन्।

फाइनल थर्ड (विपक्षी टोलीको गोल पोस्ट नजिक) मा मोड्रिचले २०१ सफल पास मिलाएका छन्। त्यस्ता सफल पास मिलाउने खेलाडीको सूचीमा उनी पाँचौँ स्थानमा छन्। मेस्सी भने १७१ पास मिलाएर आठौँ स्थानमा छन्। ब्रजिलका प्रख्यात खेलाडी पेलेको चार वटा पासको कीर्तिमान पार गर्दै विश्वकपको नकआउट चरणको खेलमा सबैभन्दा बढी पास मिलाउने खेलाडीको कीर्तिमान पनि मेस्सीको नाममा छ। यो वर्ष दुईसहित उनले तीनवटा विश्वकप प्रतियोगितामा गोल अनि गोलका लागि पास मिलाएका छन्। अन्तर्राष्ट्रिय स्तरमा १७० खेल खेल्दै मेस्सीले ९५ गोल गरेका छन्। यी दुवै राष्ट्रिय स्तरमा सर्वाधिक हुन्। मोड्रिचले भने क्रोएशियाका लागि १६० अन्तर्राष्ट्रिय खेलमा २३ गोल गरेका छन्।

क्रोएशिया

उनी विश्वकपमा छवटा खेलको आरम्भमै खेल्ने उमेरले सबैभन्दा पुराना आउटफील्ड खेलाडी (गोलरक्षकबाहेक अरूू खेलाडी) बन्नेछन्। सन् १९६२ मा ३७ वर्ष पुगेका ब्रजिलका निल्टन सान्टोसलाई पछि पार्दै उनले नयाँ कीर्तिमान कायम गर्नेछन्। सेमिफाइनल खेलअघिसम्मको तथ्याङ्क हेर्दा क्रोएशियाका लागि उनले विश्वकपमा सर्वाधिक १७ खेल खेलेका छन् भने ३० पटक प्रमुख अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका छन्। अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीले एक पटक कोपा अमेरिका प्रतियोगिता जितेका छन्। मोड्रिचले भने कुनै पनि त्यस्तो प्रतियोगिता जितेका छैनन्।

यी दुई खेलाडीको एउटा रोचक प्रसङ्ग छ। आर्जेन्टिनाका लागि मेस्सीको पहिलो गोल अनि क्रोएशियाको टोलीबाट मोड्रिचको पहिलो खेल सन् २००६ को मार्चमा आर्जेन्टिना र क्रोएशियाबीच भएको मैत्रीपूर्ण खेलमा भएको थियो। उक्त खेल क्रोएशियाले ३-२ अन्तरले जितेको थियो।

Spread the love