त्रिभुवन विमानस्थलभित्र मालिन्दो एयर दुर्घटनाबाट बच्यो

त्रिभुवन विमानस्थलभित्र मालिन्दो एयर दुर्घटनाबाट बच्यो

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।चालक दलका सदस्य र यात्रु सबै सकुशल छन् । जहाजको अघिल्लो भाग जमिनमा जोतिएपछि उद्धारकर्मीको टोलीले तत्काल उद्धार गरेका थिए ।  उडान नम्बर ओडी १८१ जहाज बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर जोतिएको थियो । राति पौने १० बजे टु जिरो अर्थात उत्तरी क्षेत्रबाट दक्षिणी क्षेत्र अर्थात् जिरो टु तर्फ जहाज गइरहेको थियो । मोडिएर पुनः उत्तरी क्षेत्रतर्फ आउने बेला जहाज धावनमार्ग छाडेर करिब १३९ फिट पर पुगेर भासिएको थियो । उक्त जहाजमा १३९ यात्रुहरु थिए ।  उडान अवतरण प्रभावित अग्नि नियन्त्रक, एम्बुलेन्स, सुरक्षाकर्मीसहित ठूलो संख्यामा उद्धारकर्मी तत्काल जहाज भएको ठाउँमा पुगेका थिए । उनीहरुले सबै यात्रुहरुलाई ओरालेपछि जहाजलाई पार्किङ क्षेत्रमा लग्ने प्रयास जारी छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ठूलो दुर्घटना टरेको बताए । जहाजको अघिल्लो पांग्रा जमिनमा भासिएपछि रातिदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएकाे छ । अवतरणको तयारीमा रहेका जहाजहरुलाई अन्यत्रै डाइभर्ट गरिएको छ ।  यसअघि बंगला एयरको जहाज अवतरणको क्रममा रनवेभन्दा बाहिर पुगेर दुर्घटना हुँदा ५० यात्रुको मृत्यु भएको थियो ।