नेपालकै पहिलो सुरुङको यात्रा

नेपालको पूर्व पश्चिम महेन्द्र राजमार्गबाट यात्रा गर्दा बारा जिल्लाको चुरियामाई मन्दिर छेवैमा राजमार्गसँगै एउटा छहारी लगाइएको संरचना छ। राजमार्गको साँधैबाट सुरु भएको छहारी चुरेको पहाडी भित्तासम्म पुग्छ र एउटा कालो रङ लगाइएको ढोकामा पुगेर अन्त्य हुन्छ। त्यो कालो रङ्ग लगाइएको ढोकाभित्र छ नेपालकै पहिलो गाडी गुडाउन बनाइएको सुरुङ मार्ग। महेन्द्र राजमार्ग तर्फबाट प्रवेश गर्दा यो सुरुङ चुरियामाई मन्दिरमा निस्कन्छ। मन्दिरमा राखिएको एउटा शिलालेखमा सुरुङ मार्गको ऐतिहासिक पक्षबारे चर्चा गरिएको छ।

नेपाली इन्जिनियर डिल्लीजङ थापाले अवधारणा तयार गरेको यो सुरुङलाई शिलालेखमा ‘दक्षिण एशियाकै पहिलो मानव निर्मित सुरुङ मार्ग’ भएको दाबी समेत गरिएको छ। नेपालका विभिन्न ठाउँ घुमेका भूगोलविद् टोनी हागन सहितका अन्तर्राष्ट्रिय पुस्तकहरूमा समेत चर्चा गरिएको यो सुरुङ विगत कैयौँ दशकदेखि अलपत्र थियो। नेपालमा सडक सञ्जाल बन्नुअघि नै भारतमा ब्रिटिश शासनकालमा रेल सञ्जाल बनिसकेको थियो। भारतबाट नेपालको अमलेखगन्जसम्म रेल आउने गरेको चर्चा विभिन्न ऐतिहासिक दस्ताबेजहरूमा उल्लेख छ। “तत्कालीन समयमा त्रिभुवन राजपथ महेन्द्र राजमार्गहरू नहुँदाखेरि भीमफेदीसम्म साना खालका यातायातका साधनहरू गुड्न मिल्ने गरी यो सुरुङ बनाइएको थियो,”

भारतको बाटो हुँदै नेपालको राजधानी काठमाण्डू आउने मानिसहरू अमलेखगन्जसम्म रेलमा आएर त्यहाँबाट गाडीमा भीमफेदीसम्म आउने र त्यहाँबाट हिँडेर राजधानी प्रवेश गर्ने गरेको अभिलेखहरूमा भेटिन्छ। अमलेखगन्जबाट भीमफेदीसम्म सडक बनाउने क्रममा बीचमा पर्ने चुरेको पहाड छल्न तत्कालीन इन्जिनियर थापाले ५०० मिटर लामो यो सुरुङको अवधारणा तयार गरेका थिए। सन् १९५० को अक्टोबरमा रक्सौल हुँदै नेपाल आएका भूगोलविद् टोनी हागनले अमलेखगन्जबाट हेटौँडासम्म आउँदा घना जङ्गल रहेको र आसपासमा बस्ती नरहेको आफ्नो संस्मरणात्मक पुस्तक नेपाल द किङ्गडम इन द हिमालयमा उल्लेख गरेका छन्। “मलाई अमलेखगन्जमा पर्खिरहेको महाराजाले पठाएको अटोमोबाइलले हामीलाई कच्ची बाटो हुँदै चुरिया क्षेत्रमा एउटा सय मिटर जति लामो सुरुङबाट एउटा फराकिलो उपत्यकामा निकाल्यो। भारतबाट काठमाण्डू आउँदा यो उपत्यकामा हेटौँडाको सानो बजारबाहेक अन्य बस्ती थिएन,” हागनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। उनका अनुसार सन् १९५० को दशकमा नेपालमा करिब ३७६ किलोमिटर लामो सडक बनिसकेको थियो र काठमाण्डू उपत्यकामा करिब १०० वटा मोटर भित्रिइसकेका थिए। तर कुलेखानीदेखि फर्पिङबीचमा करिब ४० किलोमिटर जटिल पहाडी भूभागमा सडक नहुँदा ती गाडीहरू चित्लाङको बाटो बोकाएर काठमाण्डू ल्याइने गरिएका थिए।

Spread the love