सन्देशमूलक कथा श्रीस्वस्थानी -ज्यो अर्जुन नेपाल

ज्यो अर्जुन नेपाल : हिन्दू धर्मावलम्बीहरुले माघ महिनामा श्री स्वस्थानीको व्रत बस्ने र कथा सुन्ने गर्छन् । नेपालमा यसको व्यापक चलन

ज्यो अर्जुन नेपाल
ज्यो अर्जुन नेपाल

रहँदै आएको छ । स्कन्दपुराणको केदारखण्ड अन्तर्गत रहेको यो कथा कुमार र अगस्त्यमुनि बीचको संवादको शैलीमा लेखिएको छ । कथा रोचक र सन्देशमूलक छ । सतीदेवी, पार्वती र गोमा जस्ता नारीहरु श्रीस्वस्थानी व्रतकथाका मुख्य पात्रहरु हुन् । शुरुमा संस्कृतमा लेखिएको कथालाई विभिन्न व्यक्तिहरुले आ–आफै अनुवाद गरेर किताब छापेका हुँदा कथा भन्ने शैली एउटै रहेको पाइन्न । स्वस्थानीको कथा एकतीस अध्यायमा उनिएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एकमहिनाको व्रतअवधि रहन्छ ।यो हिन्दुहरुको पौराणिक कथामध्ये नेपाली समाजको निजी विशेषता भएको मौलिक व्रतकथा हो । देवीको उत्पत्तिको बारेमा प्रष्ट नखुलाइए तापनि पनि स्वरुप भने प्रष्टयाउने प्रयास गरिएको छ ।sosthani
अष्टासु च दलेष्वेषु मातृकाष्टथितास्तथा, खड्गं, त्रिशुलं चोध्र्वञ्च वामेच वरमुत्पलम् ।
चतुर्भुजा त्रिनेत्रा च सर्वालंकार भूषिता,सुवर्ण वद्धिका साभा स्वस्थानी परमेश्वरी ।
श्री स्वस्थानी अष्टदल यन्त्र
अष्टदलमा अष्टमात्रिकाहरु क्रमशः चामुण्डा, महाकाली, वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही र इन्द्रायणी बसेका छन् भने यिनीहरुको बिचमा चार हातमा त्रिशूल, तरवार, चक्र र कमल लिएकी श्री स्वस्थानी देवी छन् । आदि शक्तिको रुपमा मानिने यस्ती देवीको विधिपूर्वक व्रत, पूजा र आराधना गर्नाले मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ ।
“स्वस्थानी” स्व र स्थान गरी दुइ शब्द मिलेर अन्त्यमा इ प्रत्यय लागेर बनेको शब्द हो । जसको अर्थ आपm्नै स्थानमा अडिग हुनु वा स्थान च्यूत नहुनु हो भने स्वस्थानी देवी एक अडिग, साधक उन्मुख र सधै सत्यको पक्षमा रहने देवीको रुपमा रहेको मानिन्छ । यो व्रत कथा हामी हरेक साधकको जीवनकथासंग जोडिएको छ । जबसम्म हामी हाम्रो स्थानबाट च्यूत हँुदैनौ तबसम्म हाम्रो इज्जत प्रतिष्ठा कायम रहिरहन्छ तर गलत कर्म र संगतले हामीलाइ स्थानच्यूत बनाउन सक्छ त्यति बेला न हाम्रो इज्जत हुन्छ न त प्रतिष्ठा नै भन्ने यस कथाको मुख्य सन्देश रहेको छ ।
श्रीस्वस्थानीको व्रत बस्नु र कथा सुन्नु हाम्रो संस्कृति नै बनिसकेको छ । यस व्रत कथाभित्र उल्लेख गरिएका प्रायः सबै तीर्थस्थलहरु नेपालभित्र रहेका छन् जसमध्य गुह्येश्वरी, श्लेष्मान्तक जंगल, वाग्मती, गौरीघाट, गोकर्ण, शालि नदी जस्ता महत्वपूर्ण तीर्थस्थलहरु उपत्यकाभित्र रहेकोले पनि स्वस्थानी कथाले बढी महत्व पाएको हो ।
भूगोलको वर्णनबाट सुरु गरिएको कथा नीतिशास्त्रका कुरा संगसंगै सकिएको छ । प्राचीन ढंगका कुरालाई अहिलेको एक्काइसांै शताब्दिमा संतोषजनक तरिकाले बुझाउन दृष्टान्तको रुपमा नवशिक्षितवर्गमा देखाई प्राचीन संस्कृतिमा दृढता कायम गर्दै पुराण दर्शन ज्याेितष तथा नयाँ भौगोलिक सिद्धान्तहरुको समन्वय गरी भूगोल वर्णन गर्न सकियो भने यसको विश्वसनीयता अझै बढ्ने थियो । त्यस्तै, सृष्टिविकासको क्रममा पनि वेदवेदाङ्ग पुराण दर्शन तन्त्रसमेतका प्राचीन आर्य ग्रन्थहरुको यथासंभव आलोचना र समालोचना गरी वैज्ञानिक तुलनासमेत प्रस्तुत गर्दै हिन्दु संस्कृतिको प्रवाहलाई निर्मल गराई विवेचनात्मक ढंगले सृष्टिको विकास क्रमलाई देखाउन सकियो भने ब्रतकथामा सुनमा सुगन्ध थपिने थियो ।
यो कथा हरेक साधकको जीवनसंग जोडिनुका साथै जन्म र मृत्युको बारेमा प्रष्टयाउने प्रयास गरिएको छ । कुनै पनि व्यक्ति ठूलो मान्छे अथवा प्रतिष्ठित बन्नको लागि आफैमा रहेको शक्तिको उपयोग गर्नु जरुरी छ । किनभने, कसैले कसैको उत्थान अथवा विनास गर्न सक्दैन त्यो स्वयम्मा निर्भर रहन्छ । दाजुभाइ इष्टमित्र बाबुआमा भनेका त कारण मात्रै हुन मूख्य व्यक्ति आफै हुने गर्दछ । सानो व्यक्ति आफ्नै पौरखले ठूलो व्यक्ति बन्न सक्छ । त्यसैले सृष्टिको कार्यमा चतुर्मुखी ब्रह्माजी केवल कारण मात्रै हुन् मुख्य सृज्य (सृष्टी) हुने वस्तु कै प्रभाव हो । ब्रह्माजी केवल एउटा निमित्त मात्रै भएको र कुनै पनि सत्यले निमित्त बाहेक अन्य कुनै वस्तुको इच्छा नगर्ने हुनाले जसले जस्तो कर्म गर्छ उसले त्यस्तै किसिमको फल पाउँछ, जसको उदाहरणको रुपमा मधु र कैटव दानव हुन् भनी देखाइएको छ । आनन्दसंग बसेका ब्रह्मालाई यी दूई दानवले दुःख दिन थालेपछि उनीहरुको वधको लागि भगवान विष्णुको आगमन भएको छ । भनिन्छ, विनास गर्ने अधिकार उसैलाई हुन्छ जसले सृजना गरेको हुन्छ, त्यसैले विष्णुको कानेगुजीवाट उत्पत्ति भएका मानिएका दैत्यहरु विष्णुबाटै मारिएका छन् । कारण, जतिसुकै शक्तिशाली भए तापनि कर्म अनुसारको फल भोग्नु पर्छ भन्ने दृष्टान्त पहिलो अध्यायमा दिन खोजिएको छ भने दोस्रो अध्यायदेखि तीसौं अध्यायसम्म आइपुग्दा चतुर्मुखी ब्रह्माको विचारदेखि लिएर सतीदेवीको परमात्माप्रतिको आस्था, दक्षप्रजापतिको घमण्ड, सतीदेवी प्रति श्रीमहादेवको मोह, पार्वतीको दृढसंकल्प शक्ति र श्रीस्वस्थानी देवीको आशिर्वाद ,गोमा र चन्द्रावतीको अहंकार ,नवराजको सहनशीलता जस्ता प्रसंगले हामीलाइ नैतिकवान बनाई श्रीस्वस्थानी देवीप्रति सदैव समर्पित भक्तलाई कठिनाइहरुबाट मुक्ति दिलाई नानारुपमा पनि एकताको भाव प्राप्त हुने कुरा बताइएकोे छ ।
कुनै पनि काम शुभारम्भ गर्दा अनुभव या ज्ञानको कमीले काम भनेजस्तो नहुनु स्वभाविकै हो । ब्रह्माजीले पनि सृिष्ट गर्ने क्रममा बुद्धिमा न्युनता छाएकोले सृिष्ट अज्ञानमय भयो अर्थात् सृष्टि गर्ने क्रममा पाँच थरीका अविद्याहरुको निर्माण भयो जसमा क्रमशः अज्ञान, मोह, विषयाशक्ति, तामिस्त्र (कुनै पनि कुराको अनुचित आग्रह) र अन्धतामिस्त्र (कतैबाट आलोचित नभई सदासर्वदा आनन्दको इच्छा राख्नु) । त्यसैले गर्र्दा आज मानव वेला वेलामा किंकर्तव्यविमुढ हुने गर्दछ भनेर भनिएको छ।
स्वस्थानी कथामा ज्योतिष प्रसङ्ग पनि यत्रतत्र छरिएर रहेको पाइन्छ । सयौ वर्ष अगाडि लिखित स्वस्थानीकथाको ज्योतिष प्रसङ्गले ज्योतिष विषयको महत्व सयौ हजारौ वर्षदेखि रहिआएको पुष्टि गर्दछ । ब्रह्मा ,विष्ण शिव क्रमशः सृष्टिकर्ता, पालनकर्ता तथा संहारकर्ता भनिएको छ । विष्णु र शिवको आयुको अवधि वा प्रमाण छैन । ब्रह्माको सय वर्ष परमायु भनिएको छ र त्यसपछि ब्रह्माको पनि मृत्यु हुने अथवा प्रलय हुने प्रसंग ज्योतिष विषयक पाइन्छ । सूर्य, चन्द्र, भौमादि ग्रह सृष्टिकालीन सुमेरु पर्वतका चारैतिर रहेको उल्लेख छ । स्वस्थानीको कथामा नवग्रह रहेको व्याख्या गरिनु, त्यही कुरा पूर्वीय ज्योतिष शास्त्रले स्वीकार्नु अनि आधुनिककालको आधुनिक यन्त्रसहितको खगोलशास्त्रले समेत पत्ता लगाउनुले स्वस्थानी लेखिनेताक नै ज्योतिष शास्त्रको राम्रो र वैज्ञानिक तवरले नै विकास भैसकेको मान्न सकिन्छ ।
यसरी सर्सर्ती हेर्दा श्रीस्वस्थानी देवीको आधार ग्रहण गर्नाले दरिद्रता र भय हटेर जानेछ । समर्थवान हुनको निमित्त हाम्रो लागि देवीको स्तोत्र पाठ, भजन, कवच, स्तुति तथा व्रत कथा जस्ता विधानहरु अत्यन्तै सुखदायक मानिन्छन् । विशेष गरेर हाम्रो जीवनका सवै भागहरुमा उहाँका दिव्यमन्त्र र भाव ग्रहण गर्नाले निर्भय बन्न सकिन्छ । अनि हामी मानवले चाहने सवै संयम, दया र मोक्षका तत्वहरु प्राप्त गर्न सफल हुन्छौ । मनमा विनयको भाव छ भने जस्तोसुकै व्यक्तिलाई पनि आफ्नो वशमा पार्न सकिन्छ । अरुको रिस डाह नगर्ने साधक हार्दिक साहनुभुति पाउन सफल हुन्छ । जसको वाणी मिजासिलो हुन्छ त्यस्ता साधकलाइ सवैले मन पराउँछन र सुखदुःखमा सहयोग पनि मिल्छ । क्रोधलाई पापको कारण जानेर त्याग्न सकियो भने जीवन सफल हुन्छ ।

शान्तितुल्यं तपो नास्ति न सन्तोषात्परं सुखम् ।
नतृष्णयाः परोब्याधिर्न च धर्मोदयापरः।।
अर्थात शान्ति बराबर अरु कुनेै तपस्या छैन, सन्तोषदेखि टाढा अरु कुनै सुख छैन, तृष्णा भन्दा ठूलो अरु कुनै रोग छैन र दयाभन्दा ठूलो अरु कुनै धर्म छैन । ईश्वरले सृष्टि गरेका सवै जीवहरुमा दयाभाव राख्न सक्नु पर्छ । यसरी स्कन्दपुराण अन्तर्गतको केदारखण्डमा वर्णन गरिएको माघमहात्म्ये कुमार र अगस्त्यमुनिको संवाद श्रीस्वस्थानीको महिमा संगसंगै देवीलाई दृष्टान्तको रुपमा देखाएर तपाई हाम्रो जीवनको यथास्थितिको वर्णन यस महात्म्यमा गरिएको छ ।

Spread the love